रसुवाको गोसाईंकुण्ड मेला आजदेखि सुरू

साउन ३०, काठमाडौँ – रसुवाको गोसाईंकुण्डमा लाग्ने मेला आजदेखि सुरू भएको छ ।

जनईपूर्णिमाको अवसर पारेर लागेको मेला भर्नका लागि विभिन्न ठाउँबाट भक्तजन रसुवा पुग्न थालेका छन् । प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा)का अवसरमा साता व्यापी रूपमा लाग्ने मेला सुरू हुन लागेको हो । यसपटक मेलामा १५ हजार तीर्थ यात्री आउने अनुमान गरिएको गोसाईकुण्ड क्षेत्र विकास समितिले जानकारी दिएको छ ।
पुत्रदा एकादशीदेखि साउन शुक्ल पूर्णिमासम्म मेला लाग्ने भएपनि नागपञ्चमीबाट नै भक्तजन आउने गर्छन् । समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मीटरको उचाईमा रहेको गोसाइँकुण्डको लम्बाई ६ सय मीटर छ भने चौडाई ३ सय ७० मीटर छ भने १८ दशमलव ३ मीटर गहिरो छ ।
उच्च भागमा पुगेपछि लेक लाग्ने समस्या तथा अन्य स्वास्थ्य समस्यालार्ई दृष्टिगत गरी चन्दनवारी र चोलाङपाटीमा नेपाली सेना र गोसाईंकुण्डमा हिमालय उद्धार संघले स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।