भूगोलका आधारमा स्थानीय निकायको संरचना बनाउन माग

साउन ३०, काठमाडौँ –  व्यवस्थापिका–संसद्को आजको विशेष समयमा सांसदले स्थानीय तहको संरचना, नेपाल– भारत सम्बन्ध, द्रुत राजमार्ग, बाढीपहिरो लगायत विषयमा सदनको ध्यानाकर्षण गराउनुभएको छ ।

विशेष समयमा पहिलो वक्ताका रुपमा नेपाली काँग्रेसका तारामान गुरुङले जनसङ्ख्याका आधारमा होइन, भूगोलका आधारमा स्थानीय निकायको संरचना बनाउन, आवश्यकता र प्राथमिकताका आधारमा आयोजना र कार्यक्रमका लागि बजेट विनियोजन गर्न तथा जिविसले दिएको प्रस्तावका आधारमा मात्र बजेट विनियोजन गर्न माग गर्नुभयो । काँग्रेसकै ज्ञानुकुमारी छन्त्यालले वर्षात्सँगै बागलुङमा भएको बाढीपहिरोका घटनाको तथ्याङ्क प्रस्तुत गर्दै पीडितलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न ध्यानाकर्षण गराउनुभयो ।
नेकपा (एमाले)का केशवप्रसाद बडालले केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले देशको शिर उठाउने ढङ्गबाट लिएको अडान, निर्णय र कामलाई अवमूल्यन हुने काम नगर्न वर्तमान सरकारलाई सुझाव दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का छमबहादुर गुरुङले प्राकृतिक प्रकोपका घटना झेलिरहेको गोरखालाई पछिल्लो पटक फिस्टेल हेलिकोप्टर दुर्घटनाले थप पीडामा पारेको बताउँदै पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न माग गर्नुभयो । सोही दलका कमला दोङले अन्तरजातीय विवाहको घटनामा काभ्रेपलाञ्चोकमा अजित ढकालको हत्या भएकाले दोषीलाई कारबाहीका लागि माग गर्नुभयो ।
तराई– मधेस लोकतान्त्रिक पार्टीका वृजेशकुमार गुप्ताले यातायात व्यवस्था कार्यालयका शाखा सबै जिल्लामा पु¥याउन तथा खेत जोत्ने ट्र्याक्टरको नवीकरण बापतको राजस्वको शुल्क घटाउन र नवीकरण गर्ने समयावधि बढाउन माग गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले राजनीतिक दलका नेताले मेडिकल अस्पताल सञ्चालन गरेको र सामान्य बिरामीलाई पनि सघन उपचार कक्षमा राखेर अनावश्यकरुपमा पैसा असुल्ने काम गर्ने काम भएकाले त्यसलाई रोक्न माग गर्नुभयो ।
यसअघि आजको शून्य समयमा रामअयोध्याप्रसाद यादव, रामअवतार पासवान र रामहरि खतिवडाले वर्षायामसँगै तराईमा भएको डुबान, सिँचाइ समस्या तथा राहादानी शुल्कमा भएको विभेदका घटनाबारे ध्यानाकर्षण गराउनुभएको थियो ।
व्यवस्थापिका–संसद्को अर्काे बैठक आगामी भदौ १ गते बिहान ११ बजे बस्ने छ ।