ओलम्पिक खेलमा आज नेपालले प्रतिस्पर्धा गर्ने

साउन २३, काठमाडौँ – ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको ओलम्पिक खेलमा आज नेपालले प्रतिस्पर्धा गर्ने भएको छ । आज नेपालकी पौडी खेलाडी गौरीका सिंहले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । गौरीकाले महिला सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्न लाग्नु भएको हो । रियो ओलम्पिकमा सहभागी १० हजार ५ सय खेलाडी मध्ये गौरीका सबैभन्दा कान्छी खेलाडी बन्नु भएको छ । आज हुने खेलमा राष्ट्रिय कीर्तिमान सुधार गर्ने गौरिकाको लक्ष्य छ ।

गौरिकाले अघिल्लो वर्ष सम्पन्न दक्षिण एशियाली खेलकुद सागमा पौडीतर्फ एक रजत तथा तीन वटा कास्य पदक जित्नु भएको थियो । रियो ओलम्पिकमा सहभागी ७ नेपाली खेलाडीमध्ये आर्चरीका जीत बहादुर मोक्तानले पहिलो दिनको खेलमा ६ सय ७ स्कोर बनाउनु भएको छ । अब दोस्रो चरणमा पर्सी भारतका खेलाडी अतनु दाससँग खेल्ने तालिका छ । मोक्तान र सिंह बाहेक रियो ओलम्पिकमा नेपालका पौडी खेलाडी शिरिष गुरुङ, एथ्लेटिक्सका हरी रिमाल र सरस्वती भट्टराई, जुडोकी फुपु ल्हामु खत्री तथा तेक्वान्दोकी निशा रावलले प्रतिस्पर्धा गर्दैहुनुहुन्छ ।