‘रोनाल्डोलाई सम्मान नगर्नु मूर्खता हुनेछ तर, बेलोन डी’अरको उपाधि मेसीले जित्नेछन्’

साउन १८ ,एजेन्सी – स्पेन तथा बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बाले आफ्ना टिम मेट बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले फिफा बेलोन डी’अरको उपाधि जित्नु पर्ने बताएका छन्।

उपाधिकै दौडमा रहेका पोर्चुगल तथा रियल मड्रिडका स्टार खेलाडी रोनाल्डोलाई भने सबैले सम्मान गर्नु पर्ने अल्बाले बताएका छन्।

अल्बाले भनेका छन्,‘रोनाल्डोलाई अपमान गर्नु मूर्खता हो किनकि उनीपनि राम्रा खेलाडी हुन्। तर, मेसीसँग उनलाई दाँज्न हुुँदैन।’ पोर्चुगललाई पहिलो पटक युरोकप फुटबल तथा रियल मड्रिडलाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाएका रोनाल्डोलाई यसपटक बेलोन डी’अरको उपाधिका लागि मूख्य दाबेदारीको रुपमा हेरिएको छ र उनी यो दौडमा मेसीभन्दा अगाडि रहेको बताइन्छ।

अल्बाले देश वा क्लबलाई उपाधि जिताउनु भन्दा पनि मैदानमा खेलाडीले गर्ने प्रदर्शनका आधारमा बेलोन डी’अरको उपाधि दिनु पर्ने उल्लेख गरेका छन्। ‘धेरै अतिरित्त खेलाडीले युरोकप, विश्वकप वा च्याम्पियन्स लिगको उपाधि जितेका छन्, कुनै खास योगदान विना। त्यसैले खेलाडीले मैदानमा कस्तो प्रदर्शन गर्छ भनेर मूल्यांकन गर्नुपर्छ। त्यसमा रोनाल्डोभन्दा मेसीनै उत्कृष्ट छन्,’ अल्बाले भने।

अल्बाले मेसी र रोनाल्डोबीच तुलना गर्न नसकिने बताए। ‘सबैको डिबेट यही छ कि मेसी वा रोनाल्डो को उत्कृष्ट भन्ने। रोनाल्डोलाई सम्मान नगर्नु मूर्खता हुनेछ। उनी महान खेलाडी हुन्। तर जसले फुटबल मन पराउँछन् उनीहरुले मेसीनै उत्कृष्ट मान्छन्,’अल्बाले उल्लेख गरेका छन्।