म्याक्सवेल अस्ट्रेलियाको टिमबाट बाहिर

साउन १७, सिड्नी (एजेन्सी)– खराब फर्मबाट जुधिरहेका अस्ट्रेलियाका बिस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेल श्रीलंकाविरूद्धको एकदिवसीय शृखंला अगाडि नै टोलीबाट बाहिरिएका छन्। अस्ट्रेलियाले आइतबार १५ सदस्यीय टोलीको घोषणा गर्ने क्रममा म्याक्सवेललाई बाहिर राखेको हो।

म्याक्सवेलले सन् २०१२ मा ‘डेब्यु’ गरेका थिए। यतिबेलादेखि उनी टिमको प्लेइङ–११ मा भित्र–बाहिर हुँदै आइरहेका थिए। तर, शृखंलाका लागि टिमबाटै बाहिर भने पहिलो पल्ट भएका हुन्। पछिल्लो समय उनी रन बनाउन संघर्ष गर्दै आइरहेका थिए। पछिल्लो ६ एकदिवसीयमा उनले मात्र ११ दशमलव ८० को औसतले रन बनाएका थिए। वेष्ट इन्डिज भ्रमणमा उनले एक पल्ट बनाएको ४६ रन नै उत्कृष्ट हो। जबकि बाँकी ३ एकदिवसीयमा मात्र ७ रन जोड्न सफल भएका थिए।

उनलाई टिमबाट बाहिर राख्ने निर्णयको पुष्टी गर्दै छनोट समितिका अध्यक्ष रोड्नी मार्शले भने–‘हामीलाई थाहा छ ग्लेन अस्ट्रेलियाको खेल जिताउने खेलाडीमध्येमा पर्छ। तर, उसको अहिलेको फर्म राम्रो छैन्। उनले पछिल्लो १० एकदिवसीयमा १० भन्दा कमको औसतले रन बनाएका छन्।’

अस्ट्रेलियाले श्रीलंकासँग उसैको घरेलु मैदानमा पाँच एकदिवसीय खेल खेल्दैछ। जसको पहिलो खेल २१ अगस्टमा कोलम्बोमा हुँदैछ। अस्ट्रेलियाले आफ्नो टिममा म्याक्सवेलबाहेक ट्रेविस हेड र स्कट बोलेडलाई पनि स्थान दिएको छैन्। वेष्ट इन्डिज भ्रमणमा यी दुवै खेलाडी टोलीमा थिए। उनीहरूको स्थानमा मोएजेस हेनरिक्स र सान मार्शलाई टिममा बोलाइएको छ।