भारतसँग पुराना सन्धि – सम्झौता पुनरावलोकन गर्न जरुरीः भट्टराई

साउन १७,  दाङ  – नयाँ शक्ति नेपालका संयोजक डाः बाबुराम भट्टराईले भारतसँग भएका सन्धि सम्झौताहरु पुनरावलोकन गर्नु पर्ने वताएका छन्।

भट्टराईले भारतसंग विभिन्न समयमा गरिएका सन्धि सम्झौता असन्तुलित भएको भन्दै भट्टराईले तत्काल पुनरावलोकन आवश्यक रहेको बताएका हुन्।

दाङको तुलसीपुरमा सोमबार विहान आयोजित साक्षात्कार कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने,‘ म प्रधानमन्त्री हुँदानै प्रवुद्ध समुह निर्माण भएको हो। त्यही समुहको सहयोगमा सीमाको विवाद र सीमामा भइरहेको डुवानको समस्या हल गर्न सकिन्छ। त्यसका लागि सन्धि सम्झौता पुनरावलोकन गर्न जरुरी छ।’

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड म्यादी प्रधानमन्त्री बन्न लागेकोले केही राम्रो काम गर्न नसक्ने पनि दाबी गरे।

भट्टराईले प्रचण्ड नेतृत्वको म्यादी सरकारलाई देशभित्र र अन्तर्राष्ट्रिय समुदाय कसैले विश्वास नगर्ने बताए। भट्टराईले भने,‘सुरुमै ९ महिना म्याद तोकेर आएको म्यादी सरकारले कति काम गर्न सक्छ। सरकार फेर्ने र कुर्सी साटासाट गर्ने कुनै नौंलो कुरा होइन।’

उनले मौसमी प्रकृतिको संसदीय खिचडी प्रणालीको अन्त्य नहुँदासम्म मुलुकमा राजनीतिक स्थायित्व हुन नसक्ने दाबी गरे। भट्टराईले राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र व्यवस्थापिका संसद पूर्ण समानुपातिक बनाउनु पर्ने बताए।

जेठ ३० मा घोषणा गरिएको नयाँ शक्ति पार्टी पुरानो पार्टीको लाइनमा थपिएको अर्को एउटा पार्टी मात्रै नहुने बरु मुलुकको आर्थिक विकास र सम्वृद्धिको एजेण्डा आत्मसाथ गरेर अगाडि बढेको पार्टी भएको जिकिर गरे।

पुराना पार्टीहरुका पुराना शाषण सत्ता भत्काउन मात्रै बनेकोले अव उनीहरुको औचित्य सकिएको दाबी उनले गरे।

सरकार परिवर्तन नितान्त आन्तरिक मामिला भएको बताउँदै भट्टराईले स्वार्थपूर्तिका लागि उग्र नक्कली राष्ट्रवाद देखाउनु देशको हितमा नभएको बताए।