विदेशमा घरेलु कामदारको न्यूनतम तलब ३० हजार

साउन १६,काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा जाने घरेलु कामदारको न्यूनतम तलब तीन सय अमेरिकी डलर हुनैपर्ने व्यवस्था गरेको छ । विशेषगरी खाडी मुलुकमा नेपाली महिला घरेलु कामदारका रूपमा जाने प्रवृत्ति अधिक छ । झन्डै दुई वर्षयता भने औपचारिक तबरबाट घरेलु कामदार पठाउन बन्द गरिएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले न्यूनतम तीन सय अमेरिकी डलर तलब हुनुपर्नेहितका थप महत्वपूर्ण व्यवस्थासहित घरेलु कामदार पठाउन खुला गर्ने तयारी गरेको हो । यस आधारमा अब जाने प्रत्येक कामदारले थोरैमा पनि मासिक ३० हजार रुपैयाँ तलब पाउनेछन् । एक अमेरिकी डलरको हिसाब एक सय राख्दा पनि ३० हजार हुन्छ । तर अहिले अमेरिकी डलरको भाउ बजारमा एक सय सात रुपैयाँ हाराहारीमा छ ।

घरेलु कामदारका रूपमा गएका नेपाली महिलाले काम अनुसार तलब सुविधा नपाएको व्यापक गुनासो आएपछि न्यूनतम तलब निर्धारण गरिएको हो । काम धेरै लगाउने तर त्यस अनुपातमा तलबसुविधा अत्यन्त न्यून दिने प्रवृत्ति निराकरण गर्न तलब तोक्नुपरेको श्रम तथा रोजगार मन्त्रालयका अधिकारीको भनाई छ ।
यसैगरी, घरेलु कामदारलाई आठ घन्टाभन्दा बढी काम लगाउन नपाइने, थप काम लगाएमा ओभरटाइम दिनुपर्ने व्यवस्थासमेत गरिएको छ । सरकारले म्यानपावर कम्पनीमार्फत मात्र घरेलु कामदार पठाउन पाउने नयाँ नियम बनाएको हो । यसअघि व्यक्तिगत तवरबाट महिला कामदारलाई वैदेशिक रोजगारीमा पठाउने गरिएको थियो ।