धनकुटाको सिधुवामा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ११ पुग्यो

साउन १३, धनकुटा – धनकुटाको सिधुवामा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । सातजनाको घटनास्थलमा र चारजनाको धरानको बीपी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनास्थलमा मृत्यु हुनेमा माओबादी केन्द्रका नेता एवं पूर्वअर्थराज्य मन्त्री हरिराज खेवासहित धनकुटा परेवादिन गाविसकी अतिमाया तामाङ, सोही ठाउँकी तारा वस्नेत र उनकी ३ वर्षीय छोरीको घट्नास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । वाँकी दुई जनाको सनाखत हुन सकेको छैन ।
घटना स्थलमा मृत्यु भएकाको सव पोस्टमार्टनका लागि धनकुटा अस्पतालमा पुर्याइएको छ ।

त्यस्तै घटना स्थलमा मृत्यु हुनेमा धरानका व्यावसायी वेदप्रसाद अग्रवाल पनि रहेका छन् । उपचारको क्रममा थप चार जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ ।
उपचारको क्रममा मृत्यु हुने चार जना मध्ये तेह्रथुम फुलेकका होमा पौडेल र धनकुटा वुढिमोरङ गाविका सनम तामाङकोमात्र सनाखत भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ३३ जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा ४ जनाको मृत्यु भएको र बाँकी २९ जनाको उपचार भइरहेको ट्राफिक प्रहरी धनबहादुर वस्नेतले बताए ।

संखुवासभाको मुढेशनिश्चरेबाट धरानको लागि प्रस्थान गरेको बा २ ख ७३६६ नम्बरको डाँफे मुनाल बस मध्याह्न करिव १२ बजे सिधुवा बजारभन्दा माथि दुर्घटना भएको थियो । वसमा ४१ जना सवार थिए । पछिल्लो केही दिन पहाडी जिल्लामा परेको लगातार वर्षाले वाटो चिप्लो भएको र हुस्सुको कारण दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए । वस सडकवाट करिव ५० मिटर तल झरेको थियो । वसको सबै पाटपुर्जा टुक्रिएको छ ।