संगीनाकी निशाले जित्लिन् ओलम्पिकमा पदक ?

साउन १३,काठमाडौं– सन् २००४ मा सम्पन्न ग्रिस ओलम्पिकमा नेपालले तेक्वान्दोबाट पदकको आशा गरेको थियो।

त्यतिबेला नेपालकी कीर्तिमानधारी महिला तेक्वान्दो खेलाडी संगीना वैद्य ‘वाइल्ड कार्ड’ पाएर ओलम्पिक खेल्ने नेपाली परम्परा पहिलोपल्ट चिर्दै छनोटमार्फत ओलम्पिकमा सहभागी हुँदै थिइन्। तर, आफ्नो परम्परागत प्रतिद्वन्द्वी चिनियाँ ताइपेईकी चेन सी–हासिनसँग उनी पहिलो खेलमै ४–० ले पराजित भइन्। नेपालको ओलम्पिकमा पदक जित्ने सपना चकनाचुर भयो।

त्यो खेलमा संगीना यति नर्भस देखिएकी थिइन्, उनका समर्थक पनि निरास बन्न पुगेका थिए। अझ रिपिचेजका आधारमा भएको अर्को खेलमा कोलम्बियाकी ग्लाडियास मोरासँग ५–१ ले पराजित भएपछि उनको खेललाई लिएर ठूलो आलोचना भयो।

नेपाली खेल इतिहासमै सबभन्दा सफल महिला खेलाडी मानिने यिनै कीर्तिमानधारी तेक्वान्दो खेलाडी संगीना यसपालि फेरिएको भूमिकामा ओलम्पिकमा सहभागी हुँदै छिन्।

उनको प्रशिक्षणमा निशा रावल यसै सातादेखि ब्राजिलको रियोमा आयोजना हुने ओलम्पिकमा सहभागी हुँदै छिन्। एसियन च्याम्पियनसिपमा स्वर्ण जित्ने इतिहाससमेत बनाएकी संगीनाको प्रशिक्षणमा निशा बिहान र बेलुकी दिनमा दुईपल्ट ललितपुरको राजदलस्थित कभर्ड हलमा प्रशिक्षणमा व्यस्त छिन्। उनी निशालाई ओलम्पिकजस्तो ठूलो प्रतियोगितामा दबाब कस्तो हुन्छ, आफूभन्दा अग्ला खेलाडीसँग कसरी खेल्नुपर्छ र विपक्षीले घेरा बनाएर दबाब दिन थाल्यो भने कसरी उम्किनुपर्छ लगायत तेक्वान्दोका महत्वपूर्ण दाउपेचमा केन्द्रित गराइरहेकी छन्।


सन् २००४ मा संगीनाले ओलम्पिक खेल्दा निशा भर्खरै तेक्वान्दो सिक्दै थिइन्। त्यसैले पनि आफ्नो प्रशिक्षकको अनुभवबाट धेरै कुरा सिक्ने उनको प्रयास छ।

सन् १९९६ मा अस्ट्रेलियाको मेलबर्नमा आयोजना भएको एसियन च्याम्पियनसिपमा फ्लाइवेटतर्फ स्वर्ण जितेपछि संगीना एकाएक चर्चामा आएकी हुन्। तेक्वान्दोको एसियन च्याम्पियनसिपमा स्वर्ण जित्ने उनी नेपालकी एक मात्र खेलाडी हुन्। उनले एसियन च्याम्पियनसिपअन्तर्गत १९९४ मा फिलिपिन्समा रजत र १९९९ मा हङकङमा कास्य जितिसकेकी छन्। त्यस्तै, दक्षिण एसियाली खेलकुदमा २ स्वर्ण र १ कास्य जितेकी छन्। उनलाई विशेषत एसियन च्याम्पियनसिपमा स्वर्ण जित्ने एक मात्र खेलाडी र छनोट भएर ओलम्पिक खेल्ने पहिलो खेलाडीका रूपमा नेपाली खेलकुदले चिन्ने गर्छ। पहिले ओलम्पिक खेलाडी र अहिले ओलम्पिकमा प्रशिक्षक हुन पाउँदा आफू निकै गौरवान्वित भएको उनको भनाइ छ। ‘यस्तो अवसर थोरैलाई जुर्छ। त्यसमा आफूलाई पाउँदा गर्व लागेको छ,’ उनले भनिन्।

उनी आफ्नो पालामा तेक्वान्दो भिडेर खेल्नुपर्ने भएकाले ‘पावर’ को ठूलो महत्व हुने तर अहिले तेक्वान्दो ‘पावर’ भन्दा प्रविधिउन्मुख भएकाले खेल्न सजिलो भएको बताउँछिन्। भन्छिन्, ‘हाम्रो पालमा धेरै लड्नुपर्थ्यो। अहिले त्यस्तो छैन। टाउकोदेखि शरीर जम्मै सेन्सर गार्ड प्रयोग हुन थालेको छ। प्रविधिको पहुँच बढेकाले जुन खेलाडीले बुद्धि लगाएर खेल्छ, त्यसको जित्ने सम्भावना बलियो रहन्छ।’

निशा ओलम्पिकमा ६७ केजीभन्दा माथि हेभिवेट समूहमा खेल्दैछिन्। यो समूहमा उनीभन्दा अग्ला विपक्षी बढी रहने सम्भावना हुन्छ। त्यसैले निशालाई अग्ला खेलाडीसँग भिड्ने तरिका पनि सिकाइरहेको संगीना बताउँछिन्।

उनी १२ वर्षअघि आफूले ओलम्पिकमा गर्न नसकेको प्रदर्शन निशाबाट गराउने अभियानमा छन्। ‘ओलम्पिकमा पदक जित्न अनुभव, सिप, हौसला, लगानी धेरै कुरा चाहिन्छ। उनले पदक जित्ने कुराको निर्क्यौल टाइसिटले पनि निर्धारण गर्नेछ। म चाहन्छु निशाले एकदमै राम्रो भिडन्त गरोस्,’ संगीनाले भनिन्।

२००४ को ओलम्पिकमा टाइसिट ‘ड्र’ हुँदा संगीनाले ताइपेईकी जुन खेलाडीलाई आफ्नो प्रतिद्वन्द्वी पाएकी थिइन्, तिनै खेलाडीले एक वर्षअघि थाइल्यान्डको बैककमा भएको एसियन ओलम्पिक छनोटको फाइनलमा संगीनालाई हराएकी थिइन्।

‘ओलम्पिकजस्तो प्रतियोगितामा मनोविज्ञानको ठूलो महत्व हुन्छ। म जुन प्रतिद्वन्द्वीसँग सुरुको खेलमा पन्छिन चाहन्थेँ, ‘ड्र’ सार्वजनिक हुँदा पहिलो खेल नै उहीसँग पाएँ,’ संगीनाले भनिन्, ‘म त्यतिबेला जुन मनोविज्ञानबाट गुज्रिएँ, त्यो अनुभव निशासँग साटिरहेकी छु। उसलाई तनाव नलिइकन खेल्न प्रोत्साहन गरिरहेकी छु।’

सन् १९९८ मा संगीना उत्कृष्ट लयमा थिइन्। त्यसै वर्ष बैंककमा आयोजित एसियन गेम्समा उनीबाट राष्ट्रले ठूलो आशा राखेको थियो। तर, उनी मोटरसाइकल दूर्घटनामा परेपछि एसियाडमा पदक जित्ने उनको सपना त्यहीँ तुहियो। त्यतिबेला उनले राष्ट्रिय टोलीबाट बाहिरिएर एक महिना विश्राम गर्नुपरेको थियो। त्यसैले, अहिले उनले निशालाई मोटरसाइकल नचढ्न सल्लाह दिएकी छन्।

‘प्रतियोगिताको छेउमा चोटपटक लागेर खेल्न नपाउँदा कति पीडा हुन्छ, त्यो मलाई थाहा छ। त्यसैले ऊ प्रशिक्षणमा आउन ढिलो गरी भने मेरो मुटु ढुकढुक हुन्छ,’ उनले भनिन्।

ओलम्पिकमा पदक जित्नु चानचुने कुरा होइन। त्यो निशाको खेलले पक्कै पनि बताउने छ। तर, यतिबेला संगीना यस कुरामा ढुक्क देखिन्छिन्( १२ वर्षअघि आफूले गर्न नसकेको राम्रो प्रदर्शनलाई निशाले यसपालि ब्रेक लगाउने छिन्।