कोसी ब्यारेज भत्काइदिने आईएसको चेतावनी

साउन ११,काठमाडौं– इस्लामिक अतिवादी संगठन (आईएस) ले कोसी ब्यारेज भत्काइदिने चेतावनी दिएको भारतीय दाबीपछि सुनसरी र सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

मुस्लिम अतिवादी संगठनहरु लस्करे तोइबा, मुजाहिद्दिन र जेएसए मोहम्मद समूहले सप्तकोसी ब्यारेज भत्काइदिने चेतावनी दिएको भन्दै सोमबार बिहारस्थित सुपौलका डिष्ट्रिक्ट मजिस्टेड बैधनाथ यादवले सुनसरी, मोरङ र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी सुरक्षा सावधानी अपनाउन माग गरेका छन्।

नेपालमा सरकार परिवर्तनको प्रक्रिया चलिरहेका बेला भारतीय पक्षबाट अतिसंवेदनशील क्षेत्रसँग सम्बन्धित विषयमा आकस्मिक चासो देखाउनुलाई जानकारहरुलाई सन्देहास्पद गतिविधि भनेका छन्।

भारतीय पक्षको आग्रहपछि तीनवटै जिल्ला प्रशासन कार्यालयले सीमा तथा ब्यारेज आसपासको सुरक्षा नेपाल प्रहरी र सशस्त्र प्रहरीलार्इ तैनाथ गराएका छन्।

सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाइँले कोसी ब्यारेज क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त क्याम्प राखेर सवारी र पैदलयात्रीमा निगरानी बढाएको बताए।