कोसी नदीको भँगालोमा १२ सय जना

साउन ११,सप्तरी – अविरल वर्षाका कारण हुनमाननगरको गोबरगाढा क्षेत्र चारैतिर कोसीको भँगालोले घेर्दा करिब एक हजार २ सय जना थुनिएका छन्। डुबानमा परेका करिव तीन सय घरमा बिजोग किसिमले उनीहरु बसिरहेका छन्।

खाना पकाउने अवस्था नहुँदा गहुँको पिठो खाएर गुजारा चलाएका छन्। स्थानीय महिला स्वयंसेविका चेतरीदेवीले प्रत्येक घरमा बिरामी परेको जानकारी दिइन्। मंगलबारसम्म पानी नघटे थप महामारी आउने खतरा देखिएको छ।

‘पकाएर खाना नपाई उनीहरु घर घरमा बिरामी परेका छन्,’ उनले भनिन्,‘उपस्वास्थ्य चौकीमा औषधि छैन। स्वास्थ्यकर्मी पनि छैनन्। औषधि लिन जाऔं भने चारैतिर कोसीका ठूला भंगाला छन्।’

स्थानीइका अनुसार कोसी बढेकाले डुंगा चल्न बन्द भएको छ। घर डुवानमा परेकाले उनीहरु अग्लो ठाउँ, घरको छत र कम पानी भएको स्थानमा खाटमा दिनरात काटेका छन्।

गोबरगाढाबाट सुरक्षित स्थान हुमाननगर कोसीका ठूला भँगाला तरेर जानुपर्छ।