सप्तकोसीमा पानीको सतह बढ्यो, २९ वटा ढोका खोलियो

साउन ८,इटहरी – पूर्वी पहाडी क्षेत्रमा केहीदिनदेखि अविरल वर्षा जारी रहेपछि सप्तकोसी नदीमा पानीको बहाब बढेको छ।

पानीको बहाब बढेपछि कोशी ब्यारेजका २९ वटा ढोका खोलिएको कोसी ब्यारेज कन्ट्रोल कक्षका प्राविधिकले जानकारी दिएका छन्।

हिजो साँझ ७ बजे कोसी ब्यारेजमा दुई लाख २५ हजार ८१४ क्यूसेक पानीको बहाव मापन गरिएको थियो।

सुनसरीको प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोख्रेलले सप्तकोसी बाढीको बहाबका विषयमा जानकारी दिँदै पहाडी क्षेत्रमा वर्षा रातीदेखि दिनभर जारी रहेकाले अझै सप्तकोसीमा बाढीको बहाव बढ्न सक्ने अनुमान गरिएको बताए।

यही साउन १ गते यो वर्षकै सबैभन्दा बढी दुई लाख ३५ हजार क्यूसेक प्रतिसेकेन्ड बाढी मापन भएको र त्यसदिन ब्यारेजका ५६ ढोकामध्ये ३५ ढोका खोलिएको पनि प्रहरी उपरीक्षक पोख्रेलले जानकारी दिए।