सासूलाई दागबत्ती दिएर बुहारी बसिन् किरिया

साउन ८,काभ्रे – मानिसको जन्म र मृत्यु स्वतः सिद्ध छ। यसमा संस्कार गर्ने परम्परागत विधिलाई समयअनुसार परिमार्जन गर्दै जानुपर्छ भन्ने कुरा एक बुहारीले सासूलाई दागबत्ती दिनेदेखि काजकिरिया गर्ने कामको थालनीबाट गरेकी छन्।

काभ्रेको पातलेखेत गाविस(१ मलिनचौरकी सरस्वती धितालले यसको थालनी गरेकी हुन्। सम्भवतः नेपालमै सरस्वतीले सासूलाई दागबत्ती दिएर काजकिरिया थालनी गरेको पहिलो घटना हुनसक्छ।

पातलेखेतको सामान्य परिवारकी एकल महिला नेत्रकुमारी धितालको बिहीबार विहान ८४ वर्षको उमेरमा निधन भएको थियो। स्वर्गिय धितालको पनौती घाटमा हिन्दु परम्पराअनुसार बुहारी सरस्वतीले दागबत्ती दिएर अन्तिम संस्कार गरेकी थिइन्।

समाजलाई परिवर्तनको मागैमा अघि बढ्न प्रेरणाको स्रोत बन्दै आफ्नो दायित्व पूरा गर्दै सासुको संस्कारदेखि किरियापुत्रीसम्म बन्ने अठोट बोकेकी सरस्वती समाज र नेपालकै लागि उदाहरणीय व्यक्तित्वको रुपमा देखा परेकी छन्।

उनको १७ वर्षको उमेरमा २०२६ सालमा नेत्रकुमारीका छोरासँग् विवाह भएको थयो। उनले लाउँलाउँ खाउँखाउँको २३ वर्षको उमेरमै २०३२ सालमा आफ्नो जीवनसाथी गुमाएपछि नेत्रकुमारीको निर्देशनमा छोरीको पालनपोषण गर्नुका साथै जीवन यापनका लागि किसानी गरेर ६४ वर्षको उम्मेरसम्म सासूका साथ बस्दै आएकी थिइन्।