शिक्षामा लगानी बढ्यो, उपलब्धि घट्यो

साउन ६,काठमाडौं– शिक्षाको आकारमा लगानी बढेको छ। तर, विद्यार्थीको सिकाइ उपलब्धि घट्दै गएको छ। तीन वर्षमा सिकाइ उपलब्धि औसतमा झन्डै १५ प्रतिशत घटेको छ।

शिक्षा मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ)ले देशभरका झन्डै ४० हजार विद्यार्थीमा गरेको अध्ययनले सिकाइ उपलब्धि घटेको देखाएको हो। इआरओको अध्ययनमा आर्थिक वर्ष ०६९÷७० मा कक्षा ३ मा २८ जिल्लाका एक हजार ६ सय ९० विद्यालयका ३८ हजार सात सय ५३ विद्यार्थीमा सिकाइ उपलब्धि थियो।

सो अध्ययनले राष्ट्रिय औसत उपलब्धि नेपालीमा ६३, गणितमा ६० प्रतिशत देखाएको थियो। तर, आर्थिक वर्ष ०७२/७३ मा उपलब्धि घटेर नेपालीमा ५२ र गणितमा ४५ प्रतिशत रहेको इआरओको तथ्यांक छ। कक्षा ५ मा आर्थिक वर्ष ०६९/७० मा ४१ हजार चार सय ७९ विद्यार्थीको परीक्षणमा नेपालीमा ६०, गणितमा ५३ र अंग्रेजीमा ५४ प्रतिशत रहेकोमा आर्थिक वर्ष ०७२/७३ मा भने उपलब्धि घटेर नेपालीमा ४६, गणितमा ४८ र अंग्रेजीमा ४७ प्रतिशत पाइएको छ।

आर्थिक वर्ष ०६८/६९ कक्षा ८ का ४८ हजार ६ सय ८२ विद्यार्थीमा गरिएको परीक्षणमा नेपालीमा ४९, गणितमा ४३ र सोसियोलोजीमा ४९ प्रतिशत सिकाइ उपलब्धि थियो। तर, आर्थिक वर्ष ०७०/७१ मा भने ४४ हजार ६७ विद्यार्थीमा गरिएको अध्ययनमा उपलब्धि घटेर नेपालीमा ४८, गणितमा ३५ र विज्ञानमा ४१ रहेको थिय। इआरओले आर्थिक वर्ष ०६८/६९ देखि विभिन्न कक्षाका विद्यार्थीको नेसनल एसिस्मेन्ट अफ स्टुडेन्ट एचिभमेन्ट (नासा) अध्ययन गर्दै आएको छ।