केसीको जीवन रक्षाका लागि गम्भीर हुन आग्रह

साउन ३,काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि तत्कालै संवाद थाल्न नागरिक अगुवा र प्राध्यापकहरूले माग गरेका छन्।

केसीको स्वास्थ्य अवस्था दिनदिनै गम्भीर हुँदै गएकोले निकास खोजेर अनसन टुंग्याउन उनीहरूले माग गरेका छन्। ‘यतिका दिन बितिसक्दा पनि उहाँले उठाएका माग विषयमा उपयुक्त निकास खोजेर अनशन टुंग्याउनतिर राज्य र जिम्मेवार राजनीतिक दलको ध्यान नगएकोप्रति हाम्रो गम्भीर ध्नाकर्षण भएको छ,’ आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ डा.केसीको जीवन रक्षाका लागि तत्कालै संवाद थालेर समस्यको निकास खोज्न र स्थितिलाई थप जटिल बन्न नदिन हामी राज्य र प्रमुख राजनीतिक पार्टीहरूसँग आग्रह गर्दछौं।’

विज्ञप्तिमा निलाम्बर आचार्य, अनुराधा कोइराला, केदारभक्त माथेमा, कुलचन्द्र गौतम, यादव खरेल, द्वारिका ढुंगेल, अभि सुवेदी, चैतन्य मिश्र, रमेशकान्त अधिकारी, सरोज धिताल, योगेन्द्र यादव, डिल्लीदेवी शाक्य र कपिल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

चिकित्सा क्षेत्र सुधार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग माग गर्दै केसी ९ दिनदेखि शिक्षण अस्पतालमा अनसन बसेका छन्। उनको माग पूरा गराउन सरकारले अहिलेसम्म संवाद थालेको छैन।