ह्विप उल्लंघन गर्दै डेढ दर्जन कांग्रेस सांसद विदेश सयरमा

साउन १,काठमाडौं –पार्टीले वर्तमान केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव गर्दा गरेर राजधानी बाहिर नजान ह्विप जारी गरेकै बेला कांग्रेसका डेढ दर्जन सांसद विदेश सयरमा निस्किएका छन्।

कांग्रेस संसदीय दलले गत असार १३ गते नै ह्विप जारी गर्दै भूकम्पपीडितको घर निर्माण र बाढी पहिरो प्रभावित जनताको समस्या लगायत महत्वपूर्ण विषयमा छलफल चलिरहेको भन्दै असार १४ गते बस्ने संसदको बैठकमा र समितिमा अनिवार्य उपस्थित हुन आग्रह गरेको थियो।

तर त्यसको उल्लघंन गर्दै ती सांसदहरु कुनै महत्व नभएका कार्यक्रमका लागि विदेश भ्रमणमा गएका छन्। सांसदहरु पार्टीसँग परामर्श नगरी ह्विप उल्लघंन गर्दै विदेश गएपछि शुक्रबार मुख्य सचेतक चीनकाजी श्रेष्ठले साउन २ गतेभित्र विदेशमा भएका सबैलाई नेपाल फर्किन अर्को ह्विप जारी गरेका छन्।

अविश्वासको प्रस्ताव दर्ता गरेकै भोलिपल्ट तीन सांसद धनराज गुरुङ, सीता गुरुङ र राजु थापा हङकङ र मकाउ भ्रमणमा निस्किएका छन्। उनीहरु नेपाली जनसम्पर्क समिति मकाउका अध्यक्ष सुदर्शन थापाको निमन्त्रणामा त्यहाँ पुगेका हुन्। थापा मानव बेचबिखनको आरोपमा नेपाल सरकारले खोजी गरेर मस्ट वान्टेड सूचीमा राखेका व्यक्ति हुन्।

यसैगरी सांसद रामचन्द्र पोखरेलको नेतृत्वमा १० जना १० दिने भ्रमणमा चीन् गएका छन्। पौडेलसँग सांसदहरु सुरेन्द्र आचार्य, रेशम बानियाँ, तप्तबहादुर विष्ट, रश्मी ठाकुर, बुद्धिसागर चौधरी, अनिता देवकोटा,दिवानसिंह विष्ट, शारदा पौडेल र विष्णुमाया परियार चीन भ्रमणमा छन्। उनीहरु साउन ६ गते बेलुका नेपाल फर्कन कार्यक्रम छ।

गगन थापा अमेरिका भ्रमणमा छन्।