अपहरणको प्रयास गरी फिरौती माग्ने चारजना पक्राउ

असार ३०,कावासोती – बालक अपहरण प्रयास गरी फिरौती रकम माग्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले रुपन्देही तिलोत्तमा–३ का २८ वर्षीय खड्कबहादुर सुनार, सोही ठाउँका २२ वर्षीय हेमबहादुर सुनार, नवलपरासी देवचुली नगरपालिका–१ का २० वर्षीय समुयल वराइली र सोही ठाउँका सन्दीप विकलाई पक्राउ गरेको हो।

खड्क र हेमबहादुरलाई बुटवलबाट र सन्दीप र समुयललाई देवचुलीबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएका छ ।

सुनार दुई दाजुभाइ हुन्। प्रहरीले चारजना पक्राउ परेपनि बाँकी दुई जनाको खोजी भइरहेको बताए।

उनीहरुले बालक अपहरणमा प्रयोग गरेको ना ३७ प ५४८० नम्बरको रातो पल्सर २२० सिसीको मोटरसाइकल र दुईवटा मोबाइल समेत बरामद गरिएको छ ।

गएको फागुन २७ गते विश्वज्योति आवासीय माध्यमिक विद्यालय, प्रगतिनगरमा कक्षा १ मा पढ्ने ७ वर्षीय प्रसिद्ध सापकोटालाई रातो पल्सर मोटरसाइकलमा आएका तीनजनाले अपहरण प्रयास गरेका थिए।

वरिपरिका बासिन्दाका कारण बालकलाई उनीहरुले लैजान सकेका थिएनन्। बालक लैजान नसके पनि पटकपटक पैसा दिनुपर्ने नत्र जे पनि हुनसक्ने धम्की दिँदै बालकका बुबा विष्णु सापकोटासँग रकम मोलमोलाई गर्ने व्यक्ति नै पक्राउ परेको इलाका प्रहरी कार्यालय नवलपुर प्रहरीले बतायो।

एक करोडबाट रकम माग्न थाले पनि १० लाखसम्म भए पनि हुने उनीहरुले बताएको विष्णु सापकोटाले बताए। चोरीको मोबाइल प्रयोग गरी उनीहरुले धम्की दिएको प्रहरीले जनाएको छ।

मोबाइलबाहेक पनि चैतको पहिलो हप्तासम्म कहिले भैरहवा र कहिले त्रिवेणीबाट फोन गरेर पैसा माग्थे, उनले भने,‘प्रहरीले पक्राउ गरेर राम्रो गरेको छ, धन्यवाद प्रहरीलाई।’ प्रहरीले अपहरणकारीलाई बुधवार सार्वजनिक गर्दा सापकोटा परिवार पनि उपस्थित थियो ।