देशभर २१ लाख गाडी, निरीक्षक शून्य

असार २९,काठमाडौं – एक साताअघि कोटेश्वरका राम आचार्य माइक्रो बसले बढी भाडा लिएको उजुरी गर्न मीनभवनस्थित यातायाता व्यवस्था विभागको कार्यालय पुगे।

तर, उनको उजुरी कुनै सुनुवाइ भएन। उल्टै त्यहाँका कर्मचारीले ट्राफिकको १०३ नम्बरमा खबर गर्न सुझाए। मनपरि ढंगले भाडा असुलेको उजुरी सुन्ने काम यातायात व्यवस्था विभागको हो। ‘तर यहाँ उजुरी गर्दा पनि कसैले वास्ता गर्दैन,’आचार्यले भने।

सवारी तथा यातायात व्यवस्था विभाग ऐनले यातायाता विभागलाई ट्राफिकसम्बन्धी धेरै अधिकार दिएपनि काम भने ट्राफिक प्रहरीले गर्दै आएको ट्राफिक महाशाखाका प्रमुख डीआईजी प्रकाश अर्याल बताउँछन्। सडकको भौतिक संरचना तथा पार्किङ व्यवस्थापनको जिम्मेवारी सडक विभाग र स्थानीइ निकायले लिनुपर्ने हुन्छ।

सवारी तथा यातायात ऐनले यातायाता क्षेत्रको निरीक्षण तथा अनुगमन गर्न घुम्ती निरीक्षण व्यवस्था भएपनि ऐन लागू भएको करिब २४ वर्ष वित्तासमेत सरकारले एकजना पनि निरीक्षक भर्ना गरेको छैन।

ऐनको दफा १५८ मा यातायात निरीक्षकको व्यवस्था गर्नु पर्ने प्रावधान छ। देशभर २१ लाख ४३ हजार सवारी साधान दर्ता भएपनि निरीक्षणका लागि एकजना पनि निरीक्षक छैनन्।