सरकारको टुंगो लाग्न दुई साता लाग्ने

असार २९,काठमाडौं – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारको टुंगो लाग्न झन्डै दुई साता लाग्नेछ।

संवैधानिक प्रक्रियाअनुसार ओलीले प्रधानमन्त्रीबाट राजीनामा गरे वा संसदको सामना गरे सरकार गठनको प्रक्रियाका लागि कम्तीमा १० दिन लाग्नेछ। प्रधानमन्त्रीबाट ओलीको राजीनामा आए राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दलहरुलाई आह्वान गर्न सक्छन् भने सहमति नजुटे मात्र संसदले बहुमतीय प्रक्रिया थाल्नेछ।

विगतको परम्परा हेर्ने हो भने राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि कम्तीमा साता दिनको समय दिने र नभए मात्र बहुमतीय प्रक्रिया थाल्न संसदलाई आग्रह गर्ने छन्। दुवै प्रक्रिया पूरा गर्न कम्तीमा १० दिन सयम लाग्नेछ। प्रधानमन्त्रीले संसदको सामना गर्ने भए अविश्वासको प्रस्ताव परिपक्व हुन नै सात दिन लाग्नेछ। त्यसपछि मात्र संसदले प्रक्रिया अघि बढाउने भएकाले सरकारको टुंगो लाग्न कम्तीमा १० दिन लाग्नेछ।

कांग्रेस नेता विमलेन्द्र निधिले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनका विषयमा छलफल सुरु भएको बताए।एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीबाट राजीनामा गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नु पर्ने निधिले बताए।