‘पार्टी एकतामा १० रेक्टरको भूकम्पले पनि असर गर्दैन’

असार २६,काठमाडौं – राप्रपा र राप्रपा नेपालले आफूहरू पार्टी एकीकरणको नजिक पुगेको दाबी गरेका छन् ।
दुई पार्टीका वार्ता समितिले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर नीतिगत र संरचनागत विषयमा सहमति कायम भएको भन्दै अब प्राविधिक विषय मात्र टुंगो लाग्न बाँकि रहेको बताएका छन्।
दुई पार्टीका वार्ता समितिका सदस्यहरुले नीतिगत र संरचनागत विषयमा भएको सहमतिपत्रमा हस्ताक्षर गरेर आपसमा साटासाट गरेका छन् । वार्ता समितिका संयोजकहरुले अब सहमतिपत्र दुवै पार्टीका अध्यक्षलाई बुझाउने र चाँडै नै केन्द्रीय समितिको संयुक्त बैठक बोलाएर पार्टी एकताको घोषणा गर्ने बताएका छन्।
राप्रपाका वार्ता समितिका संयोजक बुद्धिमान तामाङले १० रेक्टरको भुकम्पले पनि असर नगर्ने गरी पार्टी एकताको जग बनेको दाबी गरे भने राप्रपा नेपालका वार्ता समितिका संयोजक राजिव पराजुलीले प्राविधिक विषय मात्र मिल्न बाँकि रहेकाले अब ढिलोमा दुई साताभित्र पार्टी एकताको घोषणा भइसक्ने दाबी गरे।
राप्रपा र राप्रपा नेपाल दुवै पूर्वपञ्चहरु आवद्ध पार्टी हुन् । विगतमा सबै पूर्वपञ्चहरु राप्रपामा रहेपनि सरकारमा सहभागी हुने सदस्यको छनोट तथा पार्टीभित्रका पद्मा कुरा नमिलेपछि राप्रपा विभाजन भइ राप्रपा नेपाल गठन भएको हो । राप्रपा नेपालसँग अहिले राप्रपासँग भन्दा दोब्बर बढी सांसद् छन्।