प्रविधिमा रमाउँदै दृष्टिविहीन, मेसेन्जरमा गफ, नेटमा पढाइ

असार २५ ,काठमाडौं – पेसाले शिक्षक ओमप्रकास बन्जाडे अरु जस्तै फेसबुकमा अनेक भाव र भंगीका फोटो पोस्ट गर्दैैनन्। हतपत्ति कसैको फोटोमा लाइकगर्दैनन्। कमेन्ट पनि लेख्दैनन्। गरुन् पनि कसरी ?

दृष्टिविहीन बन्जाडे सूचना लिन र दिनका लागि फेसबुक प्रयोग गर्छन्। फुर्सदका बेला साथीभाइसँग मेसेन्जरबाट संवाद गर्छन्। फेसबुकमा राखिएको लिंक पछ्याउँदै समाचार सुन्छन्। दुनियाँको खबर थाहा पाउँछन् र आफ्नो दृष्टिकोण बनाउँछन्।

दृष्टिविहीन भएर के भो? अरुले जस्तै ओमप्रकाशको पनि चल्तीका सामाजिक सञ्जालमा उपस्थिति छ। एन्ड्रोइड मोबाइल चलाउने उनी मोबाइलमार्फत भाइबर र स्काइपमा गफ गर्छन्। युट्युबबाट गीत सुन्छन्।

सामाजिक सञ्जाल र प्रविधि प्रयोगले उनी अपडेट मात्रै भएका छैनन्, ज्ञानको दायर पनि फराकिलो बनाइरहेछन्। भन्छन्,‘प्रविधिले मान्छेको आत्मविश्वास ह्वात्तै बढाइदिँदो रहेछ।’

राम्रो शैक्षक पृष्ठभूमि भएका र सहरमा करिअर संघर्ष गरिरहेका अधिकांश दृष्टिविहीन अरुभन्दा कम छैनन्। प्रविधिको सायोगमा उनीहरुले आफूलाई अब्बल तुल्याउने प्रयास त गरिरहेका छन् नै, दृष्टिविहीन कमजोर हुन्छन् भन्ने आम सोचाइलाई परिवर्तन गरिदिएका छन्।