जर्मनीलाई हराउँदै फ्रान्स युरोकप फुटबलको फाइनलमा

एजेन्सी – विश्वविजेता जर्मनीलाई हराउँदै आयोजक राष्ट्र फ्रान्स युरोकप फुटबलको फाइनल प्रवेश गरेको छ।

गएराति भएको खेलमा जर्मनीलाई २–० ले पराजित गर्दै फ्रान्स युरोकप फुटबलको उपाधि नजिक पुगेको हो। फ्रान्सले अब उपाधिका लागि पोर्चुगलको सामना गर्नेछ।

जितसँगै फ्रान्सले विश्वकपमा जर्मनीसँग व्यहोरेको हारको बदला समेत लिएको छ।

पहिलो हाफको अन्तिम मिनेटमा फ्रान्सले पेनाल्टी पायो र त्यसमा एन्टोनी ग्रिजम्यान चुकेनन्। जर्मनीका कप्तान वाष्टिन स्वाइन्सटाइगरले डी एरियाभित्र हेन्ड गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो।

यस्तै खेलको ७२ औँ मिनेटमा ग्रिजम्यानले नै गोल गर्दै अग्रता दोब्बर पारे।

अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको जर्मनीका केही राम्रा प्रहार फ्रान्सेली गोल रक्षकले उत्कृष्ट बचाउ गरेका थिए।

पोर्चुगल र फ्रान्सको उपाधि भिडन्त आउँदो आइतबार हुनेछ।