प्रहरीमा काज विकृति, पाँच हजार सात सय प्रहरी काजमा

असार २४, काठमाडौं – महानगरीय अपराध महाशाखा, टेकुमा प्रहरीको दरबन्दी एक सय ४१ जनाको  हो। तर, महाशाखामा दुई सय ११ प्रहरी कार्यरत छन्। तीमध्ये करिब एक सय प्रहरी काजमा आएका हुन् भने महाशाखामै दरबन्दी भएका करिब ५० जना अन्यत्रै काजमा बसेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौं र मातहतमा तीन हजार एकजनाको दरबन्दी छ। तर, परिसरमा दुई हजार नौ सय ५६ जना कार्यरत छन्। तीमध्ये पनि डेढ सय काजमा छन्। परिसरको दरबन्दीका करिब एक सय प्रहरी भने काठमाडौंबाहिर काजमा छन्।

प्रहरीका हरेकजसो कार्यालयमा काज विकृति छ। प्रहरीमा करिब पाँच हजार सातजना काजमा कार्यरत छन्। अधिकांशले घरपायक तथा आकर्षक ठाउँमा बस्न काज मिलाउने गरेका छन्। काज विकृतिले सुरक्षा व्यवस्थामा समेत असर परेको प्रहरी अधिकारीहरू नै बताउँछन्। तर, विकृति हटाउने प्रयास भएको छैन।

प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले पाँच हजार ६ सय ९० प्रहरी काजमा रहेको जानकारी दिए । अधिकांशलाई संगठनकै आवश्यकताअनुसार काजमा खटाइएको उनको दाबी छ।