पूर्वसभासद् राईमाथि कुटपिट भएको घटनाप्रति भत्र्सना

खोटाङ, २१ असार-पूर्वसभासद् अर्जुन राईमाथि भएको कुटपिटको घटनाप्रति खोटाङका नौ राजनीतिक दलले भत्र्सना गरेका छन् । जिल्लाको बुइपा जाने क्रममा हुर्लुङमा बास बस्नुभएका राईमाथि शनिबार राति नुनथला– ८ का २२ वर्षीय तेन्जिङ शेर्पा र उदयपुर कटारी –८ का २४ वर्षीय रमेश अछामी लगायत १२÷१५ जनाको समूहले निर्घात कुटपिट गरेको भन्दै दलले निन्दा गरेका हुन् । राईमाथि कुटपिट भएको घटनालाई लिएर सोमबार प्रजिअ चन्द्रबहादुर कार्कीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै दलहरुले दोषीलाई कारबाही गर्न ध्यानाकर्षण गराएका छन् ।

घटनास्थलबाट ज्यान जोगाउन भाग्दा समेत लखेटी लखेटी मकैबारीमा पु¥याएर कुटपिट गर्नाले ज्यानै मार्ने उद्देश्यले पूर्व सभासद्माथि आक्रमण भएको राजनीतिक दलले जिकिर गरेका छन् । कुटपिटबाट राईको नाक, बायाँ हातको पाखुरा लगायतमा गहिरो चोट लाग्नाका साथै शरीर र टाउको लगायत विभिन्न ठाउँमा नीलडाम लागेको छ । अस्पतालले घाइते राईको टाउको, नाक र च्यापुको सिटिस्क्यान गर्नुपर्ने बताएको छ ।

राप्रपा नेपाल खोटाङका जिल्ला अध्यक्ष जीवन श्रेष्ठले घटनाको विषयमा जानकारी पाएलगत्तै नुनथला प्रहरीचौकीलाई खबर गरेपछि प्रहरीले पूर्व सभासद् राईलाई मरणासन्न अवस्थामा उद्धार गरेको थियो । कुटपिटका क्रममा ज्यान जोगाउन ‘मरेको अभिनय’ गरेपछि मात्र उनीहरुले छाडेको राईले बताउनुभएको छ ।

मेवा खोला जलविद्युत् आयोजनाको फलामे खम्बा ढुवानीका लागि बुइपा जाने क्रममा राईमाथि आक्रमण भएको थियो । घटनालगत्तै जिल्ला अस्पताल दिक्तेलमा ल्याएर उपचार गराइएका राईलाई थप उपचारका लागि सोमबार हेलिकप्टर मार्फत काठमाडौँं पठाइएको छ । कुटपिटमा संलग्न शेर्पा र अछामीलाई खबर पाएलगत्तै पक्राउ गरेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस