७५ लाख जरिवानाको विवादले इन्डक्सन चुलो गोदाममा अलपत्र

एजेन्सी , असार १८ –त्रिभुवन विमानस्थलको भन्सार गोदाममा रहेको इन्डक्सन चुलोको जरिवाना शुल्क नेसनल ट्रेडिङ र अर्थ मन्त्रालयबीच कसले तिर्ने भन्ने विषयमा विवाद हुँदा गोदाममै अलपत्र परेको छ।

चीन सरकारले अनुदानस्वरुप सहयोग गरेको १० हजार वटा इन्डक्सन चुलो ६ महिनादेखि विमानस्थलको भन्सार गोदाममै अलपत्र अवस्थामा छ।

पहिले भन्सार शुल्क बुझाउन नसक्दा लामो समयसम्म थन्किएको चुलो फेरि गोदामले लिने ७५ लाख रुपैयाँ जरिवाना शुल्कको विवादका कारण अलपत्र परेको हो।

नेशनल ट्रेडिङ कर्पोरेसनका महाप्रबन्धक सत्यनारायण मेहताका अनुसार अर्थ मन्त्रालयले रकम समयमै उपलब्ध नगराउँदा कर्पोरेसनले आवश्यक भन्सार शुल्क तिर्न सकेको थिएन। जसका कारण जरिवाना शुल्क बढ्न गएको हो।

भन्सार राजस्व दाखिल भए पनि गोदामले लिने ७५ लाख जरिवाना शुल्क कसले तिर्ने भने विवादका कारण चुलो गोदामै अलपत्र परेको उनले स्वीकार गरे।

एकहप्ता अगाडि मात्रै कर्पोरेसनले कार्यालयलाई २ करोड ५० लाख रुपैयाँ भन्सार शुल्क दाखिल गरेको थियो।

नेशनल ट्रेडिङको कारणले भन्सार शुल्क तिर्नमा बिलम्ब नभएको भन्दै हर्जना शुल्क आफूहरुले नतिर्ने मेहताले बताए। ‘त्यत्रो पैसा हामीसँग छैन’ मेहताले भने, ‘भन्सार शुल्क तिर्नमा हामीले बिलम्ब गरेकै होइनौँ, अर्थमन्त्रालयले समयमै पैसा नदिँदा बिलम्ब भएकोले जरिवाना हामीले कसरी तिर्ने ?’

भारतीय नाकाबन्दीको समयमा नेपालले आग्रह गरेपछि चीनले डिसेम्बर ३१ तारिखमा त्रिभुवन विमानस्थलमा ल्याईदिएको थियो। चुलो आउनासाथ आपूर्ति मन्त्रालयले चुलो रिसिभ गर्दै बिक्री वितरणको जिम्मा नेशनल ट्रेडिङलाई दिएको थियो।

कर्पोरेसनले भने आफूहरुसँगै भन्सार दस्तुर दाखिल गर्न आवश्यक पैसा नभएको भन्दै अर्थमन्त्रालय र आपूर्ति मन्त्रालयसँग रकम माग गरेको थियो।

भन्सार दस्तुर दिन नसक्ने हो भने छुट गरिदिन भन्दै अर्थ मन्त्रालयसँग पनि आफूहरुले आग्रह गरेको मेहताले बताए।

तर अर्थमन्त्रायले भने भन्सार छुट गर्न नमिल्ने भन्दै जवाफ दिएको थियो। अर्थमन्त्रालले भन्सार छुट पनि नदिने र रकम पनि उपलब्ध नगराउँदा लामो समयसम्म गोदामै चुलो अलपत्र परेको मेहताको भनाई छ।