यातायात रोकिएःइन्धन र खाद्यान्न कति छ मौज्दात ?

असार १८ , काठमाडौं –पहिरोले उपत्यका प्रवेश गर्ने नाका पटकपटक अवरुद्ध हुन थालेका छन्। वर्षासँगै उपभोक्ताले खाद्यान्नको जोहो गर्न थालेका छन्। तर, वर्षाले बाटो छेके पनि खाद्यान्नलगायतको मौज्दात पर्याप्त रहेको खाद्य संस्थानको दाबी छ।

खाद्य संस्थानले आफ्ना सबै गोदाममा चामल पर्याप्त मौज्दात रहेकाले उपत्यका भित्रिने नाका अवरुद्ध भए पनि अभाव नहुने दाबी गरेको छ। ‘देशभरका हाम्रा सबै गोदाममा अहिले पूर्ण क्षमतामा चामल भण्डारण गरिएको छ,’ संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले भने,‘आपूर्ति गर्न कठिनाइ हुने स्थानमा यसअघि नै पठाइएको छ। थप आपूर्तिका लागि आपूर्ति मन्त्रालयसँग कुरा भइरहेको छ।’

संस्थानसँग भूकम्पपीडितका लागि बंगलादेश तथा चीन सरकारले उपलब्ध गराएको चामल पनि मौज्दात रहेको श्रेष्ठले बताए। ‘नियमित मौज्दात राख्नुपर्ने जति राखेका छौँ,’ उनले भने, ‘माग भएका स्थानमा आपूर्ति भइरहेको छ।’ काठमाडौंसहित झापा, सुर्खेत, नेपालगन्जलगायतका स्थानमा संस्थानका भण्डारण केन्द्र छन्।