भारतीय राष्ट्रपति मुखर्जीले नेपाल भ्रमण गर्ने संकेत

असार १८ , नयाँ दिल्ली – भारतीय विदेश मन्त्रालयले राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण हुन सक्ने संकेत गरेको छ। भ्रमण गराउन चाहने मुलुकको गृहकार्यमा नै भ्रमण निर्धारण हुने बुझाइ भारतीय विदेश मन्त्रालयको छ।
नेपाल र भारतबीच उच्च राजनीतिक भ्रमण आदानप्रदानका लागि आफूहरू सधैं खुला रहेको मन्त्रालयको भनाइ छ। विदेश मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा राष्ट्रपति मुखर्जीको सम्भावित नेपाल भ्रमणका सम्बन्धमा सोधिएको प्रश्नमा प्रवक्ता विकास स्वरूपले भारत सधैं उच्च राजनीतिक भ्रमण आदानप्रदानका लागि खुला रहेको बताए।

‘भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणबारे प्रस्ताव प्राप्त भएमा त्यसलाई निश्चित रूपमा नै उचित ढंगले विचार गरिनेछ,’ स्वरूपले भने। तर, भ्रमणबारे भइरहेका पहलबारे भने उनले विस्तृत जानकारी दिएनन्।

नेपालले यसअघि नै भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिइसकेको छ। तर, भारतले त्यसको ठोस जवाफ दिएको छैन। सन् १९९७ यता कुनै पनि भारतीय राष्ट्रपतिले नेपाल भ्रमण गरेका छैनन्।