निर्वाचन अगाडि पुनःसंरचना गरिनुपर्छ –डा भट्टराई

काठमाडौँ, १६ असार । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले स्थानीय निकायको निर्वाचन अगाडि संविधानमा गरिएको व्यवस्थाअनुसार पुनःसंरचना गर्नुपर्ने बताउनुभएको छ ।

सञ्चारकर्मीसँग आज यहाँ भएको छलफलमा उहाँले स्थानीय निकायको पुनःसंरचना भइसकेपछि हुने निर्वाचनमा नयाँ शक्ति नेपाल सहभागी हुने जानकारी दिनुभयो । उहाँले तराई–मधेस, आदिवासी जनजातिको राज्य पुनःसंरचनामा रहेको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

संविधानले परिकल्पना गरेको केन्द्र, प्रदेश र स्थानीय निकायको पुनःसंरचना, प्रदेशको सीमाङ्कन, निर्वाचन क्षेत्रको निर्धारण हुनुपर्ने र संविधानबमोजिम बनेका निकायको निर्वाचन हुनुपर्ने उहाँको कथन छ ।

संसद्को निर्वाचनमा सहभागी हुन आवश्यक रणनीति, बनाउन पार्टीले संसदीय मामिला विभाग नै गठन गरेको संयोजक भट्टराईले बताउनुभयो ।