देशलाई आकर्षक चलचित्र नगरी बनाइनुपर्छः राष्ट्रपति

काठमाडौँ, १६ असार – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई आकर्षक चलचित्र नगरीका रुपमा विकास गरिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घ सम्मान समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हाम्रो देश स्वयम् नै प्राकृतिक चलचित्र नगरी हो, त्यसैले आकर्षक चलचित्र नगरीका रुपमा विकास गरी आधुनिक प्रविधि र मौलिक पहिचानलाई संयोजन गरेर अघि बढ्नुपर्छ ।”

राष्ट्रपति भण्डारीले सामाजिक आर्थिक परिवर्तनको अभियानमा चलचित्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै चलचित्र क्षेत्रमा स्वदेशी लगानीलाई प्रोत्साहन गरी विदेशी लगानीलाई थप आकर्षित गर्न सकिएमा यस क्षेत्रको समुचित विकाससँगै राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आधा शताब्दीभन्दा लामो इतिहास बोकेको नेपाली चलचित्र क्षेत्रले भाषा, साहित्य, कला, संस्कृति आदिको प्रवद्र्धनका साथै राष्ट्र, राष्ट्रियता, सामाजिक चेतनाको विकास र संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान पु¥याएको उहाँको भनाइ थियो । चलचित्र श्रव्य दृश्यको प्राविधिक सम्मिश्रण मात्र हैन, बरु समाज र राष्ट्रको समष्टिगत प्रतिबिम्ब हो भन्दै राष्ट्रपति भण्डारीले सामाजिक तथा सांस्कृतिक मूल्य र मान्यतामा आएको परिवर्तनलाई अङ्गीकार गर्दै मौलिक पहिचान र मान्यतालाई चलचित्रले आत्मसात् गर्नुपर्ने औँल्याउनुभयो ।

राष्ट्रपति भण्डारीले अहिलेको अवस्थामा चलचित्रको निर्माण प्रदर्शन तथा वितरणलाई अझ व्यवस्थित गरिनुपर्ने वाञ्छनीय भएकाले यसलाई गतिशील उद्योगका रुपमा लिई छायाङ्कन तथा प्रशोधनका लागि सरकारी तवरबाट अध्याधुनिक छायाङ्कन स्टुडियो निर्माण गर्न जरुरी भएको औँल्याउनुभयो ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चलचित्र मनोरञ्जनको साधनसँगै समाज परिवर्तनमा यसको महत्वपूर्ण योगदान छ भन्दै नेपालीपन, मौलिकता र राष्ट्रिय गरिमालाई उच्च बनाउन चलचित्रकर्मीको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । उहाँले चलचित्र उद्योगलाई आजको प्रविधिसँग जोडेर प्राकृतिक र मौलिकतालाई समावेश गरी अन्तर्राष्ट्रियस्तरको बनाउन चलचित्र नगरीका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताउनुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले चलचित्रलाई व्यवसायिकताका रुपमा हेर्नुभन्दा पनि नेपाली मौलिकतालाई प्राथमिकता दिइएको बताउनुभयो ।