अन्डा, मासु र दूध उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने

काठमाडौँ, १६ असार – पशुपक्षी विकासमन्त्री शान्ता मानवीले अन्डा, मासु र दूध उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि अनुदान रकम उपलब्ध गराउन पहल गरिने बताउनुभएको छ ।

नेपाल माछा मासु व्यवसायी सङ्घद्वारा यहाँ आज आयोजित ‘काठमाडौँ उपत्यकाका मासु व्यवसायीको बृहत् भेला’मा मन्त्री मानवीले उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउन मासु पसलको नियमित अनुगमनमा जोड दिनुभयो ।

राज्यमन्त्री नरदेवी पुनले आफूहरु सधैँ मासु व्यवसायीको हकहितका पक्षमा रहेको बताउनुभयो । मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले बधशाला र स्वस्थ मासु सङ्कलनका लागि शीतभण्डार निर्माणका लागि अनुदानको व्यवस्था गरिने जानकारी गराउँदै त्यसका लागि उत्साहजनक रुपमा व्यवसायी पनि लाग्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ महानगरपालिका, जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले काठमाडौँ उपत्यका बाहिर रहेका बधशालाको व्यवस्थापनसँगै शीतभण्डार निर्माणका लागि कामपा निरन्तर लागिरहेको जानकारी गराउनुभयो । कन्जुमर आई नेपालका अध्यक्ष विमला खनालले स्थानीय व्यवसायीलाई व्यवस्थापन गर्ने आधार सरकारले तयार गर्नुपर्ने बताउनुभयो ।