घरेलु हिंसाका उजुरी बढे

दमक, १५ असार । झापाको दमकमा घरेलु तथा महिला हिंसा सम्बन्धी उजुरी बढेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा घरेलु तथा महिला हिंसा सम्बन्धी उजुरीका घटनामा वृद्धि आएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकमा आव २०७१÷७२ मा ४८ वटा उजुरी दर्ता भएकोमा चालु आवको साउनदेखि जेठसम्मको ११ महिनामा ५५ वटा उजुरी दर्ता भएका छन् । त्यसअघि आव २०७०÷७१ मा ४७ वटा उजुरी दर्ता भएका थिए ।

इप्रका दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार उजुरी गर्नेमा अधिकांश घरेलु हिंसाका घटना छन् । सामाजिक रुपान्तरणसँगै आम नागरिकमा आएको चेतनाका कारण घरेलु हिंसाका घटना प्रहरी कार्यालयसम्म आउने क्रम बढेको उपरीक्षक लिम्बूले बताउनुभयो ।

दमक तथा आसपासका क्षेत्रमा घरेलु हिंसाका अधिकांश घटना मादक पदार्थ सेवनका कारण हुने गरेको उहाँले बताउनुभयो । इप्रका दमकका अनुसार चालु आवमा सबैभन्दा धेरै साउन महिनामा घरेलु हिंसाका १४ वटा उजुरी परेको थियो ।