नेपाल–भारत सम्बन्धलाई सन्तुलित गर्नुपर्नेमा जोड

काठमाडौँ, १४ असार – पूर्व राजदूत दीपकुमार उपाध्यायले नेपालले सबै दलको सहमतिमा छिटो परराष्ट्र नीति बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले कूटनीतिक सम्बन्धलाई सन्तुलित गरी नेपाललाई फाइदा हुने विदेश नीति ल्याउन सकेमा देशलाई लाभ हुने बताउनुभयो । उहाँले लामो समयदेखि भारतसँगको धार्मिक, सांस्कृतिक तथा सहयोग आदानप्रदानको सम्बन्धका कारण दुई देशको मैत्री सम्बन्धलाई जनस्तरमा विस्तार गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

पूर्वराजदूत उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल र भारतको सम्बन्ध सुधारोन्मुख बन्दै गएको विचार व्यक्त गर्दै भारतले नेपाललाई नजिकको छिमेकी राष्ट्रका रुपमा प्राथमिकता दिएको र एकै वर्ष दुईपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाँच पटक विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण भइसकेको बताउनुभयो ।

नेकपा (एमाले) का डा राजन भट्टराईले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष सुधार गरेर जानुपर्नेमा जोड दिँदै दुई मुलुकबीच अहिले सम्बन्ध राम्रो बन्दै गएको र दुवै देशका राष्ट्रपतिको एक अर्को देशमा भ्रमण गराउने गरी तयारी सुरु भइसकेको बताउनुभयो ।

उहाँले पछिल्लो समयमा दुई पक्षीय प्रशासनिक संयन्त्रको बैठक नियमितजसो भइरहेका कारणले हिजो सम्बन्धमा उत्पन्न समस्या कम हुँदै गएको बताउँदै दुवै देशलाई एकापसमा राम्रो सम्बन्धले फाइदा पु¥याउने र अबको सम्बन्ध २१औँ शताब्दीको उचाइमा कायम हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।