सुध्रिँदै नेपाल–भारत सम्बन्ध

असार १४, काठमाडौं – संविधान जारी भएपछि एकाएक बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधारतर्फ अघि बढेको छ।

महाभूकम्प र त्यसपछिको नाकाबन्दी लगायत कारणले रोकिएका नेपाल भारत दुईपक्षीय बैठकहरु एक महिनायता धमाधम हुन थालेका छन्।

सिँचाइसम्बन्धी सहसचिवस्तरीय बैठक चार साताअघि भयो। लगत्तै सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समितिको बैठक बस्यो। ऊर्जा सचिवस्तरीय बैठक दिल्लीमा बस्दैछ भने सीमा विवादसम्बन्धी द्विपक्षीय बैठक काठमाडौंमा सकिएको छ।

दुईपक्षीय अन्तरसरकारी समितिको बैठक पनि बस्दैछ। सन् १९५० लगायत दुईपक्षीय सन्धि सम्झौता पुनराबलोकन गर्न बनेको प्रबुद्ध समूहको बैठक पनि सातापछि काठमाडौंमा हुँदैछ। ग्यासलगायत अत्यावश्यक बस्तुको आपूर्तिमा देखिएका समस्या समाधान गर्न दुवै देशका अधिकारी छलफलमै छन्।

पूर्वपरराष्ट्रमन्त्री डा. भेषवहादुर थापालेअहिले देखिएको बैठकको तयारी हेर्दा नेपाल–भारत सम्बन्ध ट्रयाकमा आउन लागेको अनुभूति भएको बताए। ‘भित्री कुरा अझै स्पष्ट देखिएको छैन, सायद हाम्रो स्तरमा जानकारी नभएको होला तर सम्बन्ध सुधारोन्मुख छ,’ उनले भने।