निर्वाचन गराउन आयोगलाई सबै सहयोग उपलब्ध गराउँछौं – प्रधानमन्त्री ओली

काठमाडौँ, १३ असार – सरकारले आगामी निर्वाचनहरुका लागि आवश्यक पर्ने कानुनी, प्रशासनिक, प्राविधिक तथा अन्य आवश्यक सबै सहयोग निर्वाचन आयोगलाई प्रदान गर्ने जानकारी गराएको छ ।

संविधानमा रहेका बाध्यकारी प्रावधान अनुरुप आगामी डेढ वर्षभित्र स्थानीय, सङ्घ÷प्रदेश र संसद्का निर्वाचन सम्पन्न गर्नुपर्ने अवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री शक्तिबहादुर बस्नेत, कानुनमन्त्री अग्निप्रसाद खरेल तथा मुख्य सचिव डा सोमलाल सुवेदी आज आयोगका कार्यालय कान्तिपथ जानुभई आयोगका गतिविधिबारेमा जानकारी लिने क्रममा सरकारका तर्फबाट आयोगलाई सो जानकारी गराएको हो ।

सरकारले आगामी मङ्सिर महिनामा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको छ तर, मिति घोषणा भएको छैन ।

सरकारले निर्वाचन आयोगसहित राजनीतिक दलको आवश्यक परामर्शमा स्थानीय निकायको निर्वाचनको तिथिमिति छिट्टै घोषणा गर्ने तयारी गरिरहेकाले आयोगलाई पूर्व जानकारी गराएको हो ।