डा केसीद्वारा फेरि अनशन बस्ने चेतावनी

काठमाडौँ, १२ असार – विभिन्न माग राख्दै शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा गोविन्द केसीले यही असार २६ गतेबाट पुनः अनशन सुरु गर्ने चेतावनी दिनुभएको छ ।

आज पत्रकार सम्मेलन गर्दै उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाई कारबाही गर्न माग गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “आफ्नो र आफन्तको नीहित व्यापारिक स्वार्थका लागि भर्ना र निश्चित शुल्कमा भर्नालगायत समग्र सुधार प्रक्रिया अवरुद्ध पारेकालाई संरक्षण दिएको, अरु जिम्मेवार पदाधिकारीलाई ब्ल्याकमेलिङ गरेर राजीनामा दिन बाध्य पारेको र काठमाडौँ विश्वविद्यालयको प्रवेश परीक्षामा कार्यक्षेत्र नाघेर हस्तक्षेप गरेकाले उहाँलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।” यस कार्यमा संलग्न आयोगका अन्य आयुक्तमाथि पनि कारबाही गर्नुपर्ने उहाँको भनाइ छ ।

माथि उल्लेखित माग पूरा गर्न यही असार २६ गतेसम्म समय दिनुभएका डा केसीले मागको सुनुवाइ नभएमा २६ गतेबाटै अनशन बस्ने जानकारी दिनुभयो ।

डा केसीको मागप्रति अख्तियारको आपत्ति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा गोविन्द केसीद्वारा आज जारी विज्ञप्तिमा प्रमुख आयुक्त तथा आयुक्तमाथि मनोगत लाञ्छनासहित महाअभियोग एवम् कारबाही प्रक्रिया अघि बढाउन राखेको मागप्रति आपत्ति जनाएको छ ।

आयोगका प्रमुख आयुक्त र आयुक्तप्रति लक्षित डा केसीको सो माग छुद्रता, अराजकता र अस्वस्थ्य मानसिकताको भएको ठहर गर्दै आयोगले मागको फेहरिस्तमा उल्लेख भएजस्तो कुनै गतिविधि भए पुष्टि गर्न चुनौती दिएको छ ।

“प्रमुख आयुक्तले व्यापारिक स्वार्थ राखेको भन्ने घृणित र निकृष्ट आक्षेप पुष्टि गर्न डा केसीलाई पुनःचुनौती दिँदै उक्त आक्षेप पुष्ट्याइँ गरिदिएका खण्डमा प्रमुख आयुक्तले पदीय जिम्मेवारीबाटै सन्यास लिने उहाँको निजी घोषणासमेत सार्वजनिक गर्छ”– आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आयोगले नेपाली स्वास्थ्य क्षेत्रमा विद्यमान अराजकता, दण्डहिनता, माफियातन्त्र र सबै प्रकृतिका असङ्गतिको अन्त्यका निम्ति सर्वथा क्रियाशील रहने दृढता व्यक्त गरेको छ ।