फरक धारका दुई चलचित्र प्रदर्शन हुँदै

काठमाडौँ, ९ असार । भोलि (शुक्रबार) फरक धारका दुई चलचित्र ‘लुकामारी’ र ‘रिलेसन’ देशैभर एकैसाथ प्रदर्शन हुँदैछन् ।

श्रीराम दाहालद्वारा निर्देशित चलचित्र ‘लुकामारी’ हास्य तथा अपराध मिश्रित कथामा आधारित चलचित्र रहेको बताइएको छ । यसमा मुख्य पात्र मधेसी मूलका छन् । जुन पात्रमा सौगात मल्लले अभिनय गर्नुभएको छ । सुरजमानसिंह भण्डारीले निर्माण गरेको चलचित्रमा कर्म (महेश शाक्य), सुरविना कार्की रिस्ता बस्नेत, कृष्णभक्त महर्जनले अभिनय गरेका छन् ।

देशको जातीय–सांस्कृतिक विविधतालाई चलचित्रले समेटेकाले सबै किसिमका दर्शकले मन पराउने अपेक्षा निर्माण पक्षले गरेको वितरक सुनिल मानन्धरले बताउनुभयो । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “एकैदिन दुई चलचित्र रिलिज भएपनि यसले ‘लुकामारी’लाई केही असर गर्नसक्ने छैन, यो विल्कुलै फरक धारको चलचित्र भएकाले यसबाट राम्रो अपेक्षा गरिएको छ ।”

त्यस्तै ‘रिलेसन’ तेक्वान्दो खेलसँग सम्बन्धित चलचित्र हो । तेक्वान्दोका ‘फस्ट सेभेन डान’ दिवाकर महर्जनले निर्माण गरेको यो चलचित्रले नेपाल र अमेरिकाको तेक्वान्दो खेलको सम्बन्धलाई देखाउन खोजिएको छ । दिपेन्द्र दाहालले निर्देशन गरेको यो चलचित्रमा महर्जनका अलावा अमेरिकी खेलाडी क्रिटिना नुनाजले मुख्य भूमिका निभाएका छन् । साथै चलचित्रमा उपेन्द्र तिमिल्सिना, लक्ष्मणविक्रम बस्नेत, सुशील पोखरेल, महिमा सिलवाल आदि कलाकारको अभिनय छ ।