काबुलमा मारिएकालाई उचित क्षतिपूर्ति दिन एमालेको माग

काठमाडौँ, ९ असार । नेकपा (एमाले)ले केही दिनअघि अफगानिस्तानको काबुलमा आतकङ्कारी आक्रमणमा परी निधन र घाइते भएकालाई उचित राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटीको बैठकले आप्रवासी नेपाली र विदेशमा काम गर्ने नेपालीको जीवन रक्षा, उनीहरुको पेसागत सुरक्षाका लागि उचित प्रबन्ध गर्न पनि सरकारको ध्यानाकर्षण गराएको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

काबुलमा भएको आतङ्ककारी हमलामा १३ जना नेपालीसहितका विभिन्न देशका नागरिकको निर्ममतापूर्वक हत्या गरिएको घटनाको घोर निन्दा र भत्र्सना गर्दै बैठकले उक्त घटनामा जीवन गुमाएका सबैप्रति श्रद्धाञ्जलि तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । बैठकले घटनामा घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बैठकले घटनामा जीवन गुमाएका नेपाली नागरिकको शव ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाउने र त्यस घटनाका बारेमा जिम्मेवारपूर्ण ढङ्गले कूटनीतिक पहल गरेकामा नेपाल सरकारको प्रशंशा गरेको छ । बैठकले घटनामा जीवन गुमाएकाको परिवार तथा घाइतेलाई तत्काल राहात उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानआकर्षण गर्नुका साथै यसमा आवश्यक पहल गर्न सरकारसमक्ष आग्रह गरेको छ । यसका साथै बैठकले आप्रवासी कामदारको सेवा र जीवनको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेका बैठकले प्रदेश कमिटीलाई व्यवस्थित र प्रभावकारी बनाउन तथा तिनका संयोजक तोक्न सचिवालयलाई आवश्यक गृहकार्य गर्न जिम्मा दिएको छ । बैठकले पार्टीलाई प्रभावकारी र एकताबद्ध बनाउने गरी संयोजन तोक्न यही असार १२ गते स्थायी कमिटीको अर्काे बैठक तय गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसद्मा अवरोध गरेको सन्र्दभमा सोधिएको प्रश्नमा नेता भट्टराईले प्रतिपक्षका आवाज सरकारले सुन्ने तर संसद् रोक्ने शैलीमा सहमत हुन नसकिने प्रतिक्रिया दिनुभयो । उहाँले राष्ट्रिय सहमतिका लागि आफूहरु तयार रहेको र सहमतिमा आउन काँग्रसलाई आग्रह गर्दै आएको पनि स्मरण गराउनुभयो ।