६० लाख अग्रिम दाइजो लिएर ‘डाक्टर’ फरार

असार ९ , जनकपुर – एक डाक्टर विवाहअघि नै केटी पक्षबाट ६० लाख रूपैयाँ दाइजो लिएर जनकपुरबाट फरार भएका छन्।
जनकपुर १० मा बस्दै आएका लाल ठाकुरका छोरा डा.प्रसान्त शर्माले बिहे गर्ने निधो गरी केटी पक्षबाट दोइजोका रूमा ६० लाखरूपैयाँ अग्रिम लिएका थिए।
महोत्तरी भ्रमरपुराका मोहन शर्माले आफ्नी छोरीको विवाह महोत्तरीकै धिरापुर घर भई जनकपुर बस्दै आएका शर्मासँग गर्ने तय गरेका थिए।
केटा पक्षले ६० लाख रकम मागेपछि केटी पक्षले उक्त रकम बैंकमा जम्मा गरिदिएका थिए।
रकम जम्मा गरिदिएको बारे केटीका भाइ सुभाष शर्माले भने,‘बिहेको कुरा टुंगो लागेपछि नै हामीले ६० लाख रूपैयाँ विवाह खर्चवापत प्रशान्तको बैंक खातामा राखिदिएका हौं। बिहे हुन एक महिना पनि बाँकी छैन तर उनीहरूले सम्पर्कसमेत गरेका छैनन्। हामी अफ्ठेरोमा परेका छौ।’
२०७२ माघ १७ गते केटा र केटीपक्षले यही असार १५ गते विहेको मिति समेत निर्धारण गरिसकेको थियो । तर, विवाहको समय नजिकिँदै जाँदा पनि केटा पक्षको तर्फबाट सरसामान किनमेल वा अन्य कुनै चासो नराखेपछि शर्माको परिवार चिन्ता मा परेको छ ।