काबुल पुगेका नेपाली राजदूत भन्छन्–टाउको ताकेर हमला गरेछन्

असार ९,काठमाडौं– अफगानिस्तानमा घटना भएलगत्तै सरकारले मलाई काबुल जान निर्देशन दियो । मृतकलाई स्वदेश फर्काएर घाइतेको उपचारको प्रबन्ध गर्ने र नेपालीको समग्र अवस्था बुझेर विवरण पठाउने जिम्मेवारी थियो । हिजो (मंगलबार) पुगेँ । सरकारी निर्देशनअनुसार १२ मृतकको शव बुधबार नेपाल पठाइसकिएको छ । घाइतेमध्ये पाँचजनालाई उपचारका लागि भारत पठाइएको छ । थप घाइतेलाई पनि पठाउने तारतम्य मिलाइँदै छ । यो काम सकिएपछि म जतिसक्दो नेपालीसँग भेट्छु । अवस्था बुझ्छु । उनीहरूको सुरक्षाबारे अफगानिस्तान सरकारसँग पनि कुरा गर्छु, अफगानिस्तान र पाकिस्तानका लागि नेपाली कार्यबाहक राजदूत तीर्थराज अर्यालको भनाई छ ।
सतर्क हुँदँहुँदै पनि अनपेक्षित घटना भएको थियो । नेपालीमाथि यसरी हमला होला भन्ने सोचिएको थिएन । मैले अफगान सरकारको सहयोगमा घटनास्थल हेरेँ, घाइतेलाई भेटेँ, मृतकलाई काठमाडौं पठाउने कानुनी प्रबन्ध मिलाएँ ।
घटनास्थल हेर्दा आक्रमणकारी लामो पूर्वतयारीका साथ आएका थिए। उनीहरू क्याल्कुलेटिभ थिए । आक्रमण भएको बसको माथिल्लो भाग र तल्लो भागमा खास केही भएको थिएन । बीचको सिसामा मात्रै हमला भएको थियो । त्यहााको अवस्था हेर्दा हमलाकारीले नेपाली सुरक्षागार्डको टाउको ताकेर हानेका थिए ।
अफगानिस्तान सरकारको पूर्ण सहयोग र सहानुभूति प्राप्त भयो। शव पठाउने प्रक्रिया निकै लामो रहेछ। कानुनी प्रक्रियासमेत मिलाएर अफगानिस्तान सरकारले चााडो शव पठाउन सहयोग गर्‍यो। घटनामा परेका जीवित नेपालीले पनि सरकारले यति चााडै रेस्पोन्स गर्ला भनेर सोचेका थिएनन् । म रातभरि सुतिनँ, यहाँका सरकारी कर्मचारी पनि अहोरात्र खटिए। छोटो समयमा हामीले जे गर्‍यौं, हामी सन्तुष्ट छौँ।
यस्तो ठूलो घटना भएपछि नेपालीमा आशंका बढ्नु अस्वाभाविक होइन । तर, मैले भेटेकाहरू अधिकांश खुसीसाथ काम गरिरहेको पाएको छु । घटना भयो, तर नेपालीहरू इमानदारीसाथ काम गरिरहनुभएको छ । कतिपय बाध्यतावश आउनुभएको छ । म उहाँहरूसँग कुराकानी गरेर सरकारलाई रिपोर्ट गर्छु । सरकारले जे निर्णय गर्छ, त्यहीअनुसार हामी अघि बढ्छौं।