अबिरल वर्षाका कारण बनेपा फेरि जलमग्न

बनेपा, ७ असार । काभ्रेपलाञ्चोकको बनेपामा परेको अबिरल वर्षाका कारण आज पनि बनेपा जलमग्न भएको छ ।

अबिरल वर्षाका कारण बनेपास्थित बसपार्क, पुलबजार जलमग्न हँुदा सवारीसाधन सञ्चालनमा कठिनाइ आएको छ ।

पुलबजार जलमग्न भएपछि अरनिको राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधनको बनेपा पुलबजारदेखि स्थानीय चारदोबाटोसम्म लाम लागेको छ । प्रहरीले बाटो खुलाउन प्रयास भइरहेको जनाएको छ ।

अरनिको राजमार्ग हुँदै सञ्चालन भएका सवारीसाधन एकतर्फी रुपमा सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बनेपाका खोला अतिक्रमण गरी घर निर्माण गरेका कारण बर्सेनि बर्खायाममा यस्तो समस्या झेल्नुपरेको छ । केही साताअघि पनि परेको भीषण वर्षाका कारण बनेपामा ठूलो जनधनको क्षति भएको थियो ।