कोरियामा पानीजहाजको माग घट्यो, नेपाली कामदारलार्इ असर

असार ७ ,काठमाडौं –
कोरियामा पानीजहाजको मागमा उच्च गिरावट आएपछि त्यसको प्रत्यक्ष असर नेपाली कामदारमा पर्ने भएको छ।
माग घटेपछि उत्पादक कम्पनीले धमाधम कामदार काटौती गर्न थालेका छन्। ती कम्पनीमा ठूलो संख्यामा नेपाली काम गर्छन्।
हुन्डाई इन्डस्ट्रिज कम्पनी, सामसुङ हेभी इन्डस्ट्रिज कम्पनी र डेउ सिपबिल्डिङ एन्ड मेरिन इञ्जिनियरिङ कम्पनीमा जहाज उत्पादनमा यस वर्ष गिरावट आएको छ।
रोजगार अनुमति प्रणालीमार्फत आएका आठ सय २५ नेपाली कामदार डेउ सिपबिल्डिङ एन्ड मेरिन इन्जिनियरिङ कम्पनीमा कार्यरत छन्। अहिले ती कम्पनीले कामदार कटौती सुरु गरेका छन्।
हुन्डाई इन्डस्ट्रिज कम्पनीले मे महिनाको पहिलो साता मरिब तीन हजार कामदार कटौती गरेको छ भने सामसुङ हेभी इन्डिस्ट्रिज कम्पनीले स्वेच्छिक अवकाशको योजना ल्याएको छ।
डेउ सिपबिल्डिङ एन्ड मेरिन इञ्जिनियरिङ कम्पनीले यही जुलाईदेखि मजदुरको सेवा सुविधा कटौतीको नयाँ नियम लागू गर्दैछ। ठूलो संख्यामा डेउ कम्पनीप्मा आश्रित नेपाली कामदार परिवर्तित प्रावधानको मारमा पर्नेछन्।
२०१६ को सुरुवातदेखि पानी जहाजको मागमा गिरावट आएको थियो। माग घटेपछि जहाज उत्पादक कम्पनीले गत मार्चदेखि जनशक्ति घटाउँदै लगेका छन्। पानी जहाज उत्पादनमा उल्लेख्य कमी र मूल्य घटाउने दबाबका कारण थप जनशक्ति घट्ने निश्चित छ।