संविधान पुनर्लेखन हुँदैन–सञ्चारमन्त्री

काँकडभिट्टा (झापा), ६ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राखेको संविधान पुनर्लेखनको सर्त कुनै हालतमा सम्भव नहुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल झापाले पूर्वसांसद द्रोणाचार्य क्षेत्रीका स्मृतिमा स्थापना गरेको ‘द्रोणाचार्य क्षेत्री पत्रकारिता पुरस्कार’ वितरण कार्यव्रmममा उहाँले मोर्चाले राखेको सात बुँदामध्ये एउटा बुँदाले उनीहरूको नियतमा अझै पनि खोट रहेको प्रस्ट देखिएको बताउनुभयो । मन्त्री राईले भन्नुभयो, “संविधानको पुनर्लेखन सम्भव छैन, यो माग गम्भीर र खतरनाक छ, संविधानसभा विघटन भइसकेको अवस्थामा यो अधिकार कसैलाई छैन, यो मधेसीको चाहना समाधानभन्दा बखेडा निकाल्ने मात्र हो ।”

मोर्चाको नियत ठीक भए सरकार हदैसम्म लचक हुने बताउँदै उहाँले अहिलेसम्म सरकारको कारण नभई मधेसी मोर्चाकै कारण वार्ता हुन नसकेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, “सहमतिको नाममा संविधान कार्यान्वयन र निर्वाचन नगर्ने भन्ने कुरा हुँदैन, यो संविधानले निर्दिष्ट गरेको जिम्मेवारी हो, यो छलफल गरेर सहमति कार्यान्वयन गर्ने विषय होइन ।”

सरकारका प्रवक्ता राईले मन्त्रिपरिषद्ले पारित गरेर व्यवस्थापिका–संसद्मा पेस गरिसकेको संविधान कार्यान्वयनको कार्यतालिका सहितको कार्ययोजना प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पहिलादेखि नै भनेअनुसार नै ल्याइएकाले त्यसमा कसैको पनि विमति हुन नसक्ने जिकिर गर्नुभयो ।

कार्यव्रmममा ‘द्रोणाचार्य क्षेत्री पत्रकारिता पुरस्कार’बाट पत्रकार रघु मैनालीलाई सम्मान गरियो । पुरस्कारको राशि रु १५ हजार र साथमा सम्मानपत्र छ ।

त्यसैगरी ‘राइजिङ स्टार पत्रकारिता पुरस्कार’बाट पाँच पत्रकारलाई पुरस्कृत गरिएको छ । पुरस्कारको राशि जनही रु तीन हजार ३३३ छ । पुरस्कृत हुनेमा ‘कोचिला न्युज डटकम’का आत्माराम राजवंशी, ‘आँगन एफएम’का दीपेन लावती, ‘सिमाना एफएम’का अशोक अधिकारी, ‘हिमशिखर टेलिभिजन’का लक्ष्मी नेपाल र ‘साझा मञ्च डटकम’का सुनिरा मैनाली हुनुहुन्छ ।

कार्यक्रममा चौतारीका अध्यक्ष गणेश बस्नेत र जिल्ला अध्यक्ष मुक्ति पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।