४ करोड रुपैयाँ धरौटी बुझाउन नसक्दा तिब्बती नागरिक जेल चलान

असार ६,काँकडभिट्टा –
दश केजी सुनसहित भद्रपुर एयरपोर्टमा पक्राउ परेका एक तिब्बती विद्यार्थी तेन्जिङ सेडुक धरौटी रकम बुझाउन नसक्दा जेल चलान भएका छन्।
सेडुकले झापा जिल्ला आदालतले मागेको चार करोड ३१ लाख ७२ हजार ५२५ रुपैयाँ बुझाउन नसक्दा जेल चलान भएका हुन्। सुनसहित भद्रपुर एयरपोर्टबाट पक्राउ परेका सेडुकलाई झापा जिल्ला अदालतको थुनछेकको आदेशमा कारागार चलान गरेको हो।
सेडुक २०७२ साल भदौ २९ गते १० केजी सुनसहित पक्राउ परेका थिए । १९ वर्षीय सेडुक भारत देहरादुनको मैसुर स्कुलमा अध्ययनरत विद्यार्थी हुन्। सेडुक नेपाली बोल्न जान्दैनन् तर उनले ताप्लेजुङको हाङ्देवा–९ बाट सोनाम गुरुङको नामबाट नेपाली नागरिकता लिएका छन्।
आफूलाई भारत दिल्लीका राजेशले काठमाडौं एयरपोर्टमा सुन पुर्याएबापत ५० हजार भारु दिन्छु भनेको उनले अदालतमा बयान दिएको झापा जिल्ला अदालतका स्रेष्तेदार नवराज आचार्यले जानकारी दिए ।