पुनर्निर्माणमा संघ–संस्थाले २२ अर्ब खर्च गर्ने, १९ हजार घर बन्ने

असार ५ ,काठमाडौं –  असार भूकम्पमा ध्वस्त संरचना पुनर्निर्माणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले साढे २२ अर्ब रुपैयाँ खर्च गर्ने भएका छन्।
संघसंस्थाले भूकम्पपीडितका १९ हजार ४ सय ५२ निजी अवास तथा विद्यालय र स्वास्थ्यचौकी भवन निर्माण गर्ने प्रस्ताव राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्वीकृत गरेको छ ।
प्राधिकरणले १७ संघसंस्थाले पेस गरेको पुनर्निर्माण प्रस्ताव स्वीकृत गरेको हो । प्रस्ताव स्वीकृत भएका संस्थाले २२ अर्ब ३६ करोड पाँच लाख ९७ हजार दुई ४४ रुपैयाँ खर्च गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणमा २७ भन्दा बढी संघसंस्थाले प्रस्ताव पेस गरेका थिए । प्राधिकरणका अनुसार पुनर्निर्माणमा सबैभन्दा ठूलो रकम सेभ द चिल्ड्रेनले खर्च गर्दै छ । उसले नौ अर्ब ८७ करोड ६९ लाख ७४ हजार रुपैयाँ खर्चेर विद्यालय तथा स्वास्थ्यचौकीका एक हजार ६ सय भवन निर्माण गर्ने प्राधिकरणले जनाएको छ ।
रेडक्रस सोसाइटीले सात अर्ब ३७ करोड ९४ लाख दुई हजार ९० रुपैयाँ खर्च गर्दै छ । उसले विद्यालय भवन तथा स्वास्थ्यचौकीका ६ हजार भवन निर्माण गर्ने भएको छ । क्यारिटेस नेपालले एक अर्ब ५६ करोड १८ लाख तीन हजार दुई सय तीन रुपैयाँ खर्चेर काभ्रे, सिन्धुपाल्चोक र दोलखामा चार हजार चार सय ४० नमुना घर निर्माण गर्नेछ । गैरआवासीय नेपालीहरूको संस्था एनआरएनएले २८ करोड ८९ लाख ३६ हजार चार सय ८२ रुपैयाँको लागतमा गोरखाको लाप्राकमा पाँच सय ७३ नमुना घर निर्माण गर्ने प्राधिकरणले जनाएको छ।
धुर्मुस–सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकमा तीन करोड २५ लाख रुपैयाँमा ६५ वटा नमुना घर निर्माण गने भएको छ । वर्ड रिन्यु संस्थाले नुवाकोटमा २४ करोड आठ लाख ९३ हजार ६ सय ९३ रुपैयाँमा तीन सय ३२ घर, ह्याबिटेट फर ह्युम्यानिटीले ३१ करोडमा नुवाकोटमा तीन सय ५० घर निर्माण गर्नेछ । प्राधिकरणका अनुसार लुथेरन वर्ड फेडेरेसनले रसुवामा ८८ करोड ९३ लाख ५६ हजार लागतमा दुई हजार एक सय २४ आवास, सुमारिटन पर्सले २५ करोडमा रसुवामा पाँच सय घर बनाउनेछ । हेन्भेट्स नेपालले ४६ करोड ५९ लाख पाँच हजारमा सिन्धुपाल्चोकमा एक हजार घर निर्माण गर्नेछ । लुमती सपोर्ट गु्रप फर सेल्टरले ३० करोड ६९ लाख आठ हजार १० रुपैयाँमा काठमाडौं चन्द्रागिरीमा आठ सय ५० घर निर्माण गर्ने भएको छ।