साङ्गीतिक कार्यक्रम गरी स्व गुरुङको स्मरण गरियो

काठमाडौँ, ४ असार । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्मरणमा बूढानीलकण्ठस्थित उहाँको निवासमा परिवार तथा आफन्तजनले साङ्गीतिक कार्यक्रम गरी गुरुङको स्मरण गरेका छन् ।

उहाँको निधन भएको १२औँ दिनको पुण्य तिथि पारेर आज साङ्गीतिक कार्यक्रममार्फत श्रद्धाञ्जलिसभा गरिएको हो ।

वरिष्ठ सङ्गीतकार गुरुङले उहाँको जीवनमा उहाँले गाएका तथा सङ्गीत भरेका महत्वपूर्ण करिब एक दर्जन गीत गाएर उहाँको स्मरण गरिएको साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो ।

यसैबीच, मुलुकका चर्चित कलाकार तथा गायकले वरिष्ठ सङ्गीतकार गुरुङको सम्झनामा आइतबार साँझ ४ बजे ललितपुरको यलःमाया केन्द्रमा साङ्गीतिक शोकसभा गर्न लागेको सायमीले बताउनुभयो ।

वरिष्ठ सङ्गीतकार गुरुङले राष्ट्रिय गानमा सङ्गीत भर्नुभएको थियो । त्यसैगरी, उहाँले नेपाली, मैथिली, भोजपुरी, नेवारीलगायतका भाषामा लेखिएका करिब एक हजार गीतमा सङ्गीत भर्नुभएको थियो ।

त्यस्तै, केही चलचित्रका गीतमा समेत उहाँले सङ्गीत भर्नुभएको र केही गीत गाउनुभएको थियो । नेपाली साङ्गीतिक क्षेत्रको विकासमा उहाँले पु¥याउनुभएको योगदानका कारण सबै कलाकार तथा सर्वसाधारणले समेत उहाँलाई सम्मान गरेको पाइएको छ ।