सीमा नाकामा पक्की पुलका लागि पहल हुँदै – उपप्रधानमन्त्री थापा

बैतडी, ४ असार – उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले भारतसँग सीमा जोडिएको महाकाली नदीमाथि झुलाघाट पक्की पुल निर्माणका लागि पहल भइरहेको बताउनुभएको छ ।

आज बैतडीमा भएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले बैतडीको सीमा नाका झुलाघाटमा पक्की पुल निर्माणका लागि राजनीतिक तहमै छलफल सुरु भइसकेको बताउनुभयो । दार्चुलामा पनि पुल बनाउनका लागि अब छलफल गर्छौं उहाँले भन्नुभयो–“परराष्ट्र मन्त्रीस्तरीय बैठकमा आफूले यी दुवै पुल निर्माणका लागि पहल गर्ने छौँ ।”

राप्रपा नेपालले आयोजना गरेको हिन्दुत्व जागरणसभालाई सम्बोधन गर्नका लागि बैतडी पुग्नुभएका मन्त्री थापाले जिल्लामा भइरहेको विकास निर्माण सन्तोषजनक भएको भए पनि उत्साहप्रद नभएको बताउनुभयो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीको समेत कार्यभार सम्हालेका मन्त्री थापाले विकास निर्माणका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम पनि अगाडि बढेको बताउँदै मन्त्री थापाले आयोजनाको डिपिआर निर्माणको काम भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो– “अब केही हप्ताभित्रै पञ्चेश्वर आयोगको संयुक्त बैठक बस्ने तयारीसमेत भइरहेको छ ।”

देशको आर्थिक विकास एवम् सबै नागरिकलाई आत्मनिर्भर बनाउन राजनीतिक स्थिरता आवश्यक रहेकामा जोड दिँदै राजनीतिक स्थिरता कायम भए आर्थिक विकास हुने र आर्थिक विकास भए रोजगारीका सम्भावना बढ्ने बताउनुभयो ।

हिन्दू राष्ट्र कायम हुनुपर्ने अभियानमा लाग्दै आउनुभएका मन्त्री थापाले आफूले संविधानअनुसार धर्मको रक्षा गरिरहेको जानकारी गराउँदै नेपालको संविधानमा धर्म निरपेक्षता लेखेको भए पनि धर्म निरपेक्षताको व्याख्यामा सनातन धर्मको संरक्षण रहेको भन्दै आफूले सोही संवैधानिक दायित्व पूरा गरिरहेको बताउनुभयो ।

संविधान निर्माण भएसँगै संविधान कार्यान्वयनको जिम्मेवारी सबैको भएको भन्दै सरकारले आगामी मङ्सिरमा स्थानीय निकायको निर्वाचन घोषणा गरेको र आगामी २०७४ मा आमनिर्वाचन घोषणा गरेकाले ती दुवै निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मधेसवादी दलहरुले गरिरहेको आन्दोलनका विषयमा बोल्दै मन्त्री थापाले मधेसवादी दलहरुले उठाएका धेरैजसो माग सम्बोधन भइसकेको र सीमाङ्कनको विषयमा पनि सैद्धान्तिक सहमति भइसकेको जानकारी गराउनुभयो ।

यसैबीच राप्रपा नेपालका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री थापाले हिन्दुत्व बचाउनका लागि आफ्नो पार्टीले अभियान चालेको बताउनुभएको छ ।

राप्रपा नेपाल बैतडीले गोठलापानीमा आयोजना गरेको बृहत् हिन्दुत्व जागरणसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले अहिले केही विदेशीहरुले पैसाको लोभलालचमा धर्म परिवर्तनको खेल खेलिरहेको बताउनुभयो ।

‘‘धर्म परिवर्तनको महारोग सल्किरहेको र यो रोक्न नसके प्राचीन संस्कृति नष्ट हुनेछ’’ उहाँले भन्नुभयो – “धर्म परिवर्तनको रोगले नेपालीको एकता र सद्भावलाई बिथोलेको छ ।” नेपालमा जन्मेर मात्रै नेपाली नहुने भन्दै अध्यक्ष थापाले संस्कृति र धर्मका हिसाबले नेपाली पहिचान भएको समेत उहाँले बताउनुभयो ।

यस्तै राप्रपा नेपालका केन्द्रीय सदस्य गोविन्द खडायतले देशको धर्म र संस्कृतिको रक्षा गर्ने पार्टी राप्रपा नेपाल मात्र भएको दाबी गर्नुभयो ।

यस्तै राप्रपा नेपालका केन्द्रीय सदस्य पुष्करराज जोशी लख्खाभाइले अखण्ड सुदूरपश्चिमको आन्दोलन सफल भएको र अब हिन्दूराष्ट्र पनि कायम गरेरै छाड्ने बताउनुभयो ।

राप्रपा नेपाल बैतडीका अध्यक्ष प्रेमबहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको सभामा राप्रपा नेपाललाई सहयोग गर्ने विभिन्न महानुभावलाई सम्मानसमेत गरिएको थियो ।

यसअघि स्थानीय निकायका कर्मचारीहरुलाई निर्देशन दिँदै मन्त्री थापाले दत्तचित्त भएर काममा लाग्न निर्देशन दिनुभयो ।

गाविसका सचिवका समस्या सम्बोधनका लागि सरकार तयार रहेको बताउँदै उहाँले स्थानीय निकायमा केही महिनापछि जनप्रतिनिधि आउने दाबी गर्नुभयो ।

मन्त्री थापाले सवल र सक्षम स्थानीय निकाय हस्तान्तरणका लागि तयार रहन निर्देशन दिनुभएको छ ।