नारायणगढ–मुग्लिन सडकखण्ड नौ घन्टापछि खुल्यो

चितवन, ४ असार – नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान खसेको पहिरोका कारण नौ घन्टा अवरुद्ध सडक दिउँसो ३ः४५ बजेबाट दुईतर्फी सञ्चालनमा आएको छ ।

चन्डिभञ्ज्याङ गाविस–५ स्थित चारकिलो भन्ने ठाउँमा सडक माथिबाट झन्डै २०० मिटर फराकिलो पहिरो झरेपछि बिहान ७ बजेदेखि सडक अवरुद्ध बनेको थियो ।

शुक्रबार साँझ ७ बजे पनि सोही स्थानमा खसेको पहिरो राति ११ बजे पन्छाएपछि यातायात सञ्चालन भएको थियो ।

मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार आज दिनभर दुईवटा लोडर र एउटा स्काभेटरले पहिरो पन्छाएको हो । पहिरो पन्छाउँदै जाने र खस्दै जाने समस्याका कारण सडक जोखिममा परेपछि मुग्लिन र नारायणगढतर्फ सुरक्षित ठाउँमा सवारी साधन रोकिएको थियो ।

पहिरोसँगै दुई वटा रुख खसिसकेका छन् भने एउटा रुख र पहिरो खस्ने जोखिममा रहेकाले जुनसुकै बेला सडक अवरुद्ध हुन सक्ने खतरा भने कायमै रहेको उहाँले बताउनुभयो । पहिरो ७० मिटरमाथि डाँडाबाट झरेको थियो ।

सडक विस्तार कार्य भइरहेकाले सामान्य वर्षासँगै पहिरो खस्ने हुँदा सवारी साधन र यात्रुले कष्ट व्यहोर्दै आएका छन् । सडक बन्द भएसँगै पहिरोस्थलबाट झन्डै १४ किमी लामो सवारीको लाइन लागेको छ । मुग्लिनतर्फ फिस्लिङसम्म र नारायणगढतर्फ गाईघाटसम्म सवारीको लाम लागेको इञ्जिनियर खनालले बताउनुभयो ।