भूकम्प पीडितलाई जापान पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौँं, ३ असार – भूकम्प पीडितलाई जापान पठाइदिन्छु भनी ठगी गर्ने दुईजनालाई काठमाडौं न्यूरोडबाट महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जापानी नागरिक हिरोसी मोरिकवा र काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने बज्र गुरुङ छन् ।

उनीहरुले जापानमा पासोना नामको मल्टिनेसनल कम्पनीको मेनेजर आफ्नो विगत ४५ वर्ष देखिको साथी भएकाले रु आठ लाखमा जापान पठाउने र प्रतिमहिना रु तीनदेखि चार लाख कमाई हुने भनि गोरखा घर भएका जनकराज ढकाललगायत १२ जनाबाट रु ११ लाख ३० हजार लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मोरिकवाले आफूलाई जापानी नागरिक बताउने तर साथमा राहदानी नभएको, उनले डि–इम्यानुअल कन्सल्टेन्सीको सिइओ तथा जापान फ्युचर सिटी इनिसिएटिभको प्रतिनिधिको आइडी कार्ड बनाई काम गर्ने गरेको र गुरुङले उक्त कन्सल्टेन्सीको डाइरेक्टर हुँ भनि बताउँदै भूकम्प पीडितलाई भूकम्प प्रतिरोधी घर बनाइदिने भनि दोलखाको सिंगटीमा भूकम्प प्रतिरोधी घर निर्माण गर्ने तालिम सञ्चालन गरेको खुल्न आएको छ ।

तालिम सम्पन्न पश्चात सजिलो गरी जापान जान सकिने भन्दै विभिन्न पीडितसँग उनीहरुले ठूलो मात्रामा रकम लिएको हुन सक्ने देखिएकाले थप अनुसन्धान कार्य जारी रहेको महाशाखाले जनाएको छ ।