विद्युत उत्पादन बर्सेनि लक्ष्यभन्दा न्यून

असार ३ ,काठमाडौं – सरकारले हेरक वर्ष विद्युत उत्पादन बढाउने महत्वाकांक्षी लक्ष्य लिएपनि उपलब्धि भने निराशाजनक रहेको तथ्यांकले देखाएको छ।

एक वर्षभित्र सम्पन्न हुने आयोजनाका सम्बन्धमा समेत सरकारी प्रक्षेपण फितलो देखिनुलाई अध्ययन र अनुसन्धानको कमजोरीका रुपमा लिइएको छ।

चालू आर्थिक वर्षमा मात्रै ६ सय मेगावाट विद्युत उत्पादनको महत्वकांक्षी लक्ष्य लिइएकोमा जम्मा ३४ मेगावाट मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

तल्कालीन अर्थमन्त्री डा. रामशरण महतले चालू आर्थिक वर्षको बजेटमा लोडसेडिङ घटाउन ६ सय मेगावाट विद्युत उत्पादन थपेर जडित क्षमता १ हजार ४ सय १८ मेगावाट पुर्याउने योजना सार्वजनिक गरेका थिए।

ऊर्जा मन्त्रालयको सहमति बेगर ल्याइएको महत्वाकांक्षी योजना भन्दै त्यतिबेलै यसको चर्को विरोध भएको थियो।

चालू आर्थिक वर्षमा ७ जलविद्युत आयोजना मात्र सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा ३४ मेगावाट मात्र विद्युत जोडिएको छ।