सरकारमै बसेर संविधान उल्लंघन

असार ३ ,काठमाडौं – नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरित अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्।

उनीहरु सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका मुख्य उपलब्धि धर्मनिरपेक्षता र संघीयता माथि नै चुनौती खडा गरिरहेका छन्।

नेपालको संविधान २०७२ अन्तर्गत गठित सरकारका जिम्मेवार उपप्रधानमन्त्रीहरु कमल थापा र चित्रवहादुर केसी संविधानको भावनाविपरित अघि बढेका हुन्।

उपप्रधान, परराष्ट्र एवम् स्थानीय विकासमन्त्री थापा संविधानले व्यवस्था गरेको धर्मनिरपेक्षता खारेज गर्ने अभियानमा छन्। त्यसैगरी उपप्रधान तथा सहकारी, गरिबी निवारणमन्त्री केसी अन्तरिम संविधानदेखि नयाँ संविधानसम्म सुरक्षित गरिएको संघीयता खारेजीको आन्दोलन चलाइरहेका छन्।

संविधान कार्यान्वयन गर्ने म्यान्डेट बोकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारका सत्ताघटक राप्रपा नेपाल अध्यक्ष थापा र राष्ट्रिय जनमोर्चा नेपाल अध्यक्ष केसी संविधान कार्यान्वयनमा बाधक बन्न थालेको कानुनविदको तर्क छ। यी दुई मन्त्रीले अहिले सरकार र सडकमा दुईथरी चरित्र देखाइरहेको उनीहरुको आरोप छ।